दीगो पर्यटन विकासको लागि पर्यटन दशक आवश्यक रहेको पर्यटनमन्त्रीको भनाइ
2022-09-12 18:06:48cri
Share with:

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले नेपालको दीगो पर्यटन विकासको लागि सरकारले ‘पर्यटन दशक २०२३–२०३२’ को अवधारणा अगाडि ल्याएको बताउनुभएको छ। पर्यटन दशक २०२३–२०३२ को अवधारणाका विषयमा नेपाल पर्यटन बोर्डको समन्वयमा सरोकारवालाहरुसँग आइतवार आयोजना गरिएको अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले पर्यटन नै नेपालको आर्थिक विकासको दीगो स्रोत भएको र कोभिड– १९ पछि थलिएको पर्यटनलाई पुनरुत्थान गर्न यो अवधारणा अघि सारिएको बताउनुभयो।

उहाँले पर्यटन विकासको लागि सरकारले नीतिगत सुधार तथा अन्य सहजीकरणको काम गर्न बताउँदै यसको समग्र विकासको लागि भने निजी क्षेत्र अग्रसर हुनु पर्ने धारणा राख्नुभयो। यस्तै उहाँले नेपाललाई युरोपियन युनियनको सेफ्टिलिस्टबाट ‘कालो सूची’ हटाउन मन्त्रालयले पहल गरिरहेको र यसबारे छिट्टै सकारात्मक नतिजा आउनेमा आफू आशावादी रहेको समेत बताउनुभयो।

कार्यक्रममा पर्यटन दशकको अवधारणा पत्र प्रस्तुत गर्दै मन्त्रालयका सचिव सुरेश अधिकारीले नेपालले दीगो रुपमा विदेशी मुद्राआर्जन गर्न सक्ने क्षेत्र पर्यटन भएकोले यसबाट लाभ लिन यो अवधारणा अगाढि बढाइएको जानकारी दिनुभयो। उहाँले सन् २०३२ सम्म ३५ लाख पर्यटक ल्याउने लक्ष्य रहेको समेत बताउनुभयो।

पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले कोभिड पछि पर्यटनमा थुप्रै समस्या देखिए पनि एक अर्कोसँग समन्वय गर्दै अगाडि बढ्न सके पर्यटनबाट नेपालले लाभ लिन सक्ने र यो अवधारणालाई समेत मूर्त रुप दिन सकिने बताउनुभयो। नेपालखबरका अनुसार सहभागीहरूले पर्यटन दशकका रुपमा काम गर्दा सरकार र निजी क्षेत्रको भूमिकालाई स्पष्ट पार्दै ठोस कार्य योजना ल्याउन सुझाव दिएका थिए।