दिगो विकास लक्ष्य प्राप्तिका लागि लगानी प्रवर्द्धन गर्ने उद्देश्यले बृहत् छलफल
2022-09-12 18:06:06cri
Share with:

दिगो विकास लक्ष्य प्राप्तिका लागि हरित, उत्थानशील र समावेशी विकास हासिल गर्ने गरी पूर्वाधार संरचना निर्माण तथा लगानी प्रवद्र्धन गर्न उद्देश्यले लगानी बोर्ड नेपालले बृहत् छलफल गर्ने भएको छ। बुधबार काठमाडौँमा हुने उक्त ‘दिगो पूर्वाधार लगानी फोरम’मा लगानीकर्ता, निजी क्षेत्र, नीति निर्माता, विकास साझेदार, बैङ्क तथा वित्तीय संस्था, विज्ञ÷विशेषज्ञको सहभागिता रहने बोर्डले जनाएको छ।

 

नेपालले विश्व जलवायु सम्मेलन (कोप–२६)मा शून्य कार्बन उत्सर्जनको लक्ष्य प्राप्तिका लागि जाहेर गरेको प्रतिबद्धता पूरा गर्न साधनस्रोतको परिचालनमा कोसेढुङ्गा साबित हुने लगानी बोर्डले अपेक्षा गरेको छ। सो कार्यक्रममा सार्वजनिक–निजी साझेदारी (पीपीपी) परियोजना बैङ्क, परियोजना विकासका सम्बन्धमा गरिने समझदारी तथा सम्झौता, परियोजना विकासका अवधारणा, सम्भाव्यता अध्ययन भएका र लगानी सम्भाव्य परियोजनाबारे विज्ञहरू बीच सैद्धान्तिक बहस हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जानकारी दिनुभयो।

 

कार्यक्रममा रणनीतिक योजना तथा लगानीकर्ताका लागि व्यावसायिक निर्देशिका सार्वजनिक गरिनेछ। गत वर्ष लगानी बोर्डले दसौँ वार्षिकोत्सवको कार्यक्रम आयोजना गरेको र उक्त रणनीतिक योजना कार्यान्वयनको चरणमा रहेको सन्दर्भमा यस कार्यक्रमले उक्त रणनीतिक योजनाको उद्देश्य हासिल गर्नसमेत सार्थक हुने भट्टको भनाइ छ।

गोरखापत्र अनलाइनका अनुसार उक्त कार्यक्रममा नेपालमा जलवायु वित्त प्रवद्र्धन, ऊर्जामा लगानी तथा दिगो पूर्वाधार विकासमा व्यावसायिक वतावरणसम्बन्धी सत्रहरू पनि सञ्चालन हुने जनाइएको छ।