बाध्यात्मक वैदेशिक रोजगारी अन्त्य गरिने
2022-09-13 19:19:46cri
Share with:

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले रोजगारका लागि नेपाली युवा विदेशिनुपर्ने बाध्यताको अन्त्य जरुरी भएको धारणा राख्नुभएको छ । रुपन्देहीको बुटवलमा आयोजित प्रधानमन्त्री रोजगार कार्यक्रमको वार्षिक समीक्षा तथा अभिमुखीकरण कार्यक्रममा मन्त्री कुँवरले यस्तो धारणा राख्नुभएको हो । स्वरोजगारी बढाउने र श्रमको सम्मान गर्ने राष्ट्रको अभियान भएकाले देशमै रोजगारी वृद्धि गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । “देशमै रोजगारी दिनुपर्छ, युवालाई यहीँ रोक्नुपर्छ, श्रमको सम्मान गरेर हामीले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत तीन महिना मात्रै होइन बाह्रै महिना काम गर्ने वातावरण मिलाउँदै छौँ,” उहाँले भन्नुभयो ।

 

उहाँले इँटाभट्टा, कपाल काट्नेलगायत धेरै प्राविधिक काममा भारतीय नागरिकले काम गरिरहेको तर नेपाली बेरोजगार रहेको चर्चा गर्दै सीप सिकेर रोजगार बन्नुपर्ने बताउनुभयो। उहाँले सामाजिक सुरक्षा कोषलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने र अनौपचारिक, स्वरोजगार तथा वैदेशिक रोजगारमा रहेका नेपालीलाई पनि सामाजिक सुरक्षाको दायरामा समेटिने बताउनुभयो ।

 

कार्यक्रममा मन्त्रालयका सहसचिव डण्डुराज घिमिरे, उपसचिव लोकनाथ भुसाल, वित्तीय विज्ञ हरिप्रसाद फुँयाललगायतले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।

लुम्बिनी प्रदेशका १०९ स्थानीय तहमा आव २०७८/७९ मा ८६ हजार ८८२ सूचीकृत बेरोजगार छन् भने चालू आर्थिक वर्ष एक लाख तीन हजार ९६१ जना सूचीकृत बेरोजगार रहेको तथ्याङ्क छ ।