नेपालमा ५५ मुलुकबाट वैदेशिक लगानी भित्रियो, भारतबाट सबैभन्दा धेरै
2022-09-14 18:21:50cri
Share with:

नेपालमा कुल ५५ देशबाट वैदेशिक लगानी भित्रिएको पाइएको छ । जसमध्ये भारतको स्थान सबैभन्दा माथि छ । राष्ट्र बैंकका अनुसार भारतबाट २०७८ असार मसान्तसम्म ७५ अर्ब ८० करोड रुपैयाँ लगानी भित्रिएको छ । जबकि सोही अवधिसम्म चीनबाट ३३ अर्ब भित्रिएको छ । आयरल्याण्डबाट १६ अर्ब ५० करोड तथा सिंगापुरबाट १५ अर्ब ५० करोड रुपैयाँ वैदेशिक लगानी भित्रिएको छ ।

 

राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको ‘नेपालमा प्रत्यक्ष वैदेशिक लगानी २०२०/२१’को सर्वे प्रतिवेदनले प्रत्यक्ष वैदेशिक लगानीको अवस्थाबारे देखाएको छ । नेपालले प्राप्त गरेको प्रत्यक्ष वैदेशिक लगानीको ६०.५ रकम औद्योगिक क्षेत्रमा गएको सो सर्वेले देखाएको छ । प्रतिवेदनले २९.५ प्रतिशत रकम सेवा क्षेत्रमा लगानी भएको देखाएको छ ।

सेवा क्षेत्रमा पनि वित्तीय तथा बीमा क्षेत्रमा बढी लगानी रहेको सर्वेले देखाएको छ । औद्योगिक क्षेत्रअन्तर्गत जलविद्युत् क्षेत्रमा ३०.८ र उत्पादन क्षेत्रमा २९.५ प्रतिशत वैदेशिक लगानी रहेको देखिन्छ । पछिल्लो समय प्रत्यक्ष वैदेशिक लगानी जलविद्युत् क्षेत्रमा केन्द्रित रहेको राष्ट्र बैंकले जनाएको कान्तिपुर अनलाइनले लेखेको छ।