नेपालको ऊर्जा क्षेत्रमा हासिल प्रगतिको प्रशंसा
2022-09-14 18:22:38cri
Share with:

जलविद्युत्मार्फत  हरित र उन्नत आधार निर्माणबारेको दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। ऊर्जा क्षेत्रको विश्वव्यापी अवस्था र नेपालले अङ्गीकर गर्नुपर्ने भावी रणनीतिबारे बृहत् छलफल गर्दै सो सम्मेलन मङ्गलबार सम्पन्न भएको हो । दिगो नेपाल हाइड्रो पावर एसोसिएसन र इन्टरनेसनल हाइड्रोपावर एसोसिएसनले सोमबारदेखि आयोजना गरेको सो सम्मेलनमा नेपालको ऊर्जा क्षेत्रले हासिल गरेको प्रगतिको प्रसंशा गर्दै अबका दिनमा अख्तियार गर्नुपर्ने नीतिगत, कानुनी तथा व्यवस्थापका विभिन्न उपायसमेत सुझाइएको छ ।

 

सम्मेलनमा नेपालको जलविद्युत् क्षेत्रलाई अझै प्रवद्र्धन गर्दै जान विदेशी लगानीकर्ताका लागि उपयुक्त वातावरण निर्माण गर्ने, जलविद्युत् क्षेत्रका लागि छुट्टै एकीकृत नीति र कार्यक्रम निर्माण गर्नुपर्ने, विद्युत्को क्षेत्रीय बजारीकरणमा बलियो उपस्थिति बनाउनुपर्नेलगायतका विभिन्न सुझावसमेत दिइएका छन्।  जलविद्युत्मा वित्तीय व्यवस्थापनसम्बन्धी एक सत्रमा नेपालको जलविद्युत्मा प्रगतिको ठूलो सम्भावना भए पनि उचित नीतिगत व्यवस्था हुन नसक्दा लगानी अपेक्षाकृत आकर्षित हुन नसकेको औँल्याइएको छ । डोल्मा फाउन्डेसनका संस्थापक तथा सीईओ टिम गोचरले विगतमा प्रतिबद्धता गरेअनुसारको सुधार गर्न नसकेको भन्दै आलोचना गर्नुभएको थियो । खासगरी लगानीकर्ताले खोज्ने स्वचालित एकल विन्दु सेवा र देशको सार्वभौम रेटिङ नगर्दा लगानीकर्ताले खासै चासो नदेखाउने गरेको बताउनुभयो । “देशको अवस्था देखाउने सार्वभौम रेटिङ पनि छैन र लगानीकर्ताले कार्यक्रममा हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृतले कार्यपत्र प्रस्तुत गर्दै जलविद्युत्को विकासका लागि स्पष्ट योजना र त्यसका लागि आवश्यक अन्य सहायक योजनाको एकीकृत खाका बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले कस्ता आयोजनामा कसको लगानी ल्याउने र लाभ तथा जोखिमको साझेदारी कसरी गर्ने भन्नेजस्ता विस्तृत योजना आवश्यक रहेको औँल्याउनुभयो । त्यस्तै नेपाल इन्फस्ट्रक्चर बैङ्कका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले वित्तीय व्यवस्थापन कुरिरहेका करिब एक हजार सात सय मेगावाट क्षमताका आयोजना र ११ मेगावाटका पीपीएको अपेक्षा गरेका आयोजनालाई निर्माणका लागि ठूलो वित्तीय अभाव हुने देखिएको बताउनुभयो ।

 

कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले पछिल्लो दशकमा पूर्वाधार विकासका लागि विभिन्न नीतिगत र व्यवस्थापकीय पूर्वतयारीका कारण ठूला आयोजनाहरू अहिले धमाधम बन्ने अवस्था आएको बताउनुभयो। इच्छुक लगानीकर्ताका लागि आइपर्ने समस्याका लागि बोर्डले नै धेरै पहल गरिदिने भन्दै लगानी गर्न तत्पर भएका स्वदेशी तथा विदेशी लगानीकर्तालाई बोर्डको समन्वयमा आउन आग्रह गर्नुभएको थियो।

 

उद्घाटन समारोहमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपालले विद्युत् उत्पादनको परिमाणमा व्यापक विस्तार गर्ने र जलविद्युत् आयोजनाको दिगोपनामा सरकार संवेदनशील भएको बताउनुभएको थियो ।

 

गोरखापत्र अनलाइनका अनुसार सम्मेलनका क्रममा आयोजित दिगो जलविद्युत् उत्पादन नीतिसम्बन्धी छलफल सत्रमा सहभागी भुटानको ड्रुक ग्रिन पावरका प्रबन्ध निर्देशक छिविङ रेन्जिनले पछिल्लो समय नेपालले विद्युत् उत्पादन र विस्तारमा व्यापकता दिइरहेका उल्लेख गर्दै क्षेत्रीय विद्युत् व्यापारमा नेपालले नेतृत्वदायी भूमिका खेल्ने अवसर रहेको धारणा राख्नुभयो ।

 

भुटानले जलविद्युत्मा नेपालले गरेको प्रगति नजिकबाट नियालिरहेको छ, यो सफलता हेर्दा नेपाल अब बीबीआईएन सञ्जालमा विद्युत् व्यापारमा नेतृत्वदायी भूमिका खेल्न सक्छ,” उहाँले भन्नुभयो । नेपालमा हाल ८ हजार मेगावाट क्षमताका जलविद्युत् आयोजना निर्माणको चरणमा रहनु पनि ठूलो सफलता भएको भन्दै उहाँले सरोकारवालालाई बधाई समेत दिनुभयो । क्षेत्रीय बजारमा प्रवेशका लागि भारतसँग सहकार्य गर्न उहाँले सुझाव दिनुभयो ।

 

जलविद्युत्लाई भुटानले रणनीतिक रूपले मात्र हेरिरहेको भन्दै उहाँले विगतमा पर्याप्त विद्युत् भए पनि अबको एक दशक भुटानले समेत सुक्खा याममा बिजुली किन्नुपर्ने अवस्था आएको जानकारी दिनुभयो । छलफल सत्रमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् ऐन २०४९ मार्पmत जलविद्युत्मा उदारीकरणको नीति अख्तियार गरिएकाले विद्युत्मा अहिलेसम्मको सफलता प्राप्त भएको जानकारी गराउनुभएको थियो ।

 

उहाँले जलविद्युत् विकासमा बहुआयामिक ढङ्गले पुँजी परिचालन गरेकाले पनि सफलता मिलेको धारणा राख्नुभयो । सरकार निजी क्षेत्र, सर्वसाधारण तथा सार्वजनिक वित्तीय संस्थाको पुँजी पनि समुचित परिचालन भइरहेकाले नेपालको जलविद्युत् विकासमा दिगोपना रहेको उहाँको भनाइ थियो । पछिल्लो समय जलविद्युत् विकासमा निजी क्षेत्रको आत्मविश्वास उच्च भएको भन्दै १ सय मेगावाटभन्दा ठूला आयोजना बनाउने आँट गरिहेको भन्दै निजी क्षेत्रको प्रशंसा गर्नुभएको थियो ।

 

कार्यक्रममा हाइड्रो ताजमानियाका पूर्वप्रमुख स्टेफेन डेभीले ताजमानियालाई अस्ट्रेलियाको ब्याट्रीका रूपमा स्थापित गर्नेगरी जलविद्युत्, पम्प स्टोरेज, वायु ऊर्जा र हाइड्रोजन उत्पादनमा ठूलो लगानी गरिहेको जानकारी दिनुभयो ।