रोग निवारणमा थुप्रै चुनौती विद्यमान छन् : राष्ट्रपति भण्डारी
2022-09-14 18:23:09cri
Share with:

राष्ट्रपति विद्यादेवी भण्डारीले उपेक्षित उष्ण प्रदेशीय रोगहरूको निवारणका क्षेत्रमा केही उपलब्धि हासिल भएता पनि अझै थुप्रै चुनौती विद्यमान रहेको बताउनुभएको छ। मङ्गलबार होटल याक एण्ड यतिमा उपेक्षित उष्णप्रदेशीय रोग (एनटीडी) सबद्ध गैरसरकारी संस्थाको अन्तर्राष्ट्रिय सञ्जाल तथा लेप्रोसी मिसन नेपालद्वारा आयोजित ‘उपेक्षित ट्रोपिकल रोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’लाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले सो कुरा बताउनुभएको हो ।

 

राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘‘उपेक्षित उष्ण प्रदेशीय रोगहरूको निवारणका क्षेत्रमा केही उपलब्धि हासिल भएता पनि अझै थुप्रै चुनौती विद्यमान रहेका छन् । कैयौँ नयाँ चुनौती समेत थपिएका छन् । कुनै समय नेपालमा नामै नसुनिएको डेंगु रोग हिजोआज देशव्यापी रूपमा फैलिएको छ । यस प्रकारका रोगको रोकथाम, निदान र उपचारका लागि आवश्यक पूर्वाधार, प्रविधि र दक्ष जनशक्तिको विकास र व्यवस्थापनमा सम्बद्ध निकायको ध्यान आकर्षण गर्न चाहन्छु ।’’

राष्ट्रपतिले उपेक्षित उष्ण प्रदेशीय रोग निवारणका क्षेत्रमा हासिल भएका उपलब्धिलाई निरन्तरता दिन र यस प्रकारका रोगको रोकथामका लागि समुदाय स्तरमा जनचेतना अभिवृद्धि गर्न शैक्षिक क्षेत्र एवम् सञ्चारकर्मीसँग समेत सहकार्य गर्दै यसलाई स्वास्थ्य सेवासँगै एकीकृत गरिनुपर्ने बताउनुभयो ।

यसैगरी, स्थानीय तहका जनप्रतिनिधि एवम् स्वास्थ्यकर्मीलाई थप सशक्तीकरण गर्दै सबै नेपालीमा उपेक्षित उष्ण प्रदेशीय रोगसम्बन्धी सेवा पुर्‍याउने प्रयासमा आइपर्ने अवरोधलाई हटाउन सकिने उहाँको भनाइ छ ।

नेपाल विश्वभरिमा ट्रकोमा उन्मूलन गर्ने राष्ट्रहरूमध्ये छैटौँ र दक्षिणपूर्वी एसियामा पहिलो राष्ट्र भएको राष्ट्रपति भण्डारीले बताउनुभयो ।