ऐतिहासिक कालदेखि नै नेपाल र चीन असल छिमेकी तथा एकअर्काका शुभचिन्तक
2022-09-15 19:11:23cri
Share with:

राष्ट्रपति विद्यादेवी भण्डारीले ऐतिहासिक कालदेखि नै नेपाल र चीन असल छिमेकी तथा एकअर्काका शुभचिन्तक मुलुक रहेको धारणा व्यक्त गर्दै द्विपक्षीय र बहुपक्षीय सहयोग आदानप्रदान हुने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले उच्चस्तरीय भ्रमणले दुई देशबीच रहिआएको बहुआयामिक सम्बन्ध अझ सुदृढ तुल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको राष्ट्रपतिका सञ्चारविज्ञ टीका ढकालले जानकारी दिनुभयो।

 

राष्ट्रपतिले २०७२ सालमा नेपालमा गएको विनाशकारी भूकम्प तथा विभिन्न प्राकृतिक प्रकोप र महामारीका समयमा निःस्वार्थ रूपमा चीन सरकारले नेपाललाई गरेको सहयोगप्रति आभार व्यक्त गर्नुभयो। राष्ट्रपति कार्यालय शीतल निवासमा बुधबार चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष ली चान्सुसँगको भेटवार्तामा राष्ट्रपति भण्डारीले यस्तो बताउनुभएको हो।

 

विश्वमा विभिन्न प्रकारबाट राजनीतिक ध्रुवीकरण भइरहेको धारणा आइरहेका बेला नेपालले एक चीन नीतिप्रतिको प्रतिबद्धता कायम राखेको पनि राष्ट्रपति भण्डारीले बताउनुभयो। गोरखापत्र।