जजिराले थाल्यो भैरहवाबाट दैनिक उडान
2022-09-17 16:13:26cri
Share with:

जजिरा एयरवेजले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेतका लागि दैनिक उडान सुरु गरेको छ । गत जेठ २ गते विमानस्थल उद्घाटन भएसँगै कुवेत–भैरहवा साताको तीन उडान गर्दै आएको जजिराले शुक्रबारदेखि दैनिक एक उडान सुरु गरेको हो।

 

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक तथा प्रवक्ता सुभाष झाले शुक्रबारदेखि जजिरा एयरवेजले कुवेत–भैरहवाबीच नियमित रूपमा दैनिक एउटा उडान सञ्चालन गरेको बताउनुभयो । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित व्यावसायिक उडान गर्ने एक मात्र विमान कम्पनी जजिराले यसअघि सोमबार, बुधबार र शनिबार गरी तीन उडान गर्दै आएको थियो । हालसम्म जजिरा एयरवेजले कुवेत–भैरहवाबीच ११० उडान गरेको छ ।

 

जजिराको उडानबाट हालसम्म छ हजार ५८७ जना हवाई यात्रु भैरहवा आएका छन् भने भैरहवाबाट सात हजार २४० जना बाहिरिएका छन् । जजिराको ‘एयर बस ३२० निओ’ विमानले कुवेत–भैरहवा उडान गर्दै आएको छ ।

 

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान बढाउन नागरिक उड्डयन प्राधिकरणले विभिन्न छुट र सहुलियत दिने गरेको छ । यसले गर्दा जजिराको भाडादर काठमाडौँबाट भन्दा भैरहवाबाट सस्तो छ ।

 

हङ्गेरीको वायुसेवा कम्पनी विज एयरले पनि कात्तिक १३ गतेदेखि भैरहवाबाट यूएईको अबुधाबी उडान सञ्चालन गर्ने तयारी गरेको गोरखापत्र अनलाइनमा खबर छ।