नेपालको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा उपलब्धी कम
2022-09-18 17:00:53cri
Share with:

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सरकारले देशभरमा हाल धानका चार सुपर जोनहरु सञ्चालन गरिरहेको छ भने दर्जनौं जोनहरु सञ्चालनमा छन्। उत्पादकत्व बढाउने र उक्त क्षेत्रको उत्पादनलाई औद्योगिक केन्द्रसम्म पुग्ने गरी उत्पादन गर्ने हेतुले यी जोनहरु सञ्चालन गरिएको सरकारी अधिकारीहरुको भनाइ छ।

 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको वार्षिक प्रगति विवरणमा देखिएको तथ्यांकमा धानको उत्पादन बढेको देखिएको छ। सरकारले वर्षेनी करोडौं रकम लगानी गरेर उत्पादकत्व बढाइरहँदा धानको आयात भने काम भएको छैन। परियोजनामार्फत् धानको उत्पादन बढ्दा पनि त्यसले राष्ट्रिय उत्पादनमा नगन्य योगदान गर्ने भएकाले पनि आयात प्रतिस्थापनको पक्षभने खास कम भएको देखिएको छैन।

 

कृषि आधुनिकीकरण र उत्पादन निर्यातको लक्ष्यका साथ शुरु भएको आयोजनाले हालसम्म सबैभन्दा धेरै लगानीको गरेको बाली नै धान हो। आयोजनाको सुरुवातमा धानको एउटा सुपरजोन, २४ ब्लक, ५०८ पकेट सञ्चालनमा थिए। देशभरमा हाल ४ सुपरजोन र १९ जोनहरुमा धान खेती भइरहेको छ।

 

झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सिन्धुली, सर्लाही, रौतहट, बारा, पर्सा, काठमाडौ., भक्तपुर, सिन्धुपाल्चोक, चितवन, नवलपरासी, रुपन्देशी, कपिलवस्तु, कास्की, दाङ्ग, बाँके, कैलाली र कञ्चनपुरमा धानका ब्लकहरु सञ्चालन गरिएको छ भने झापालाई धानको सुपरजोनका रुपमा विकास गरिएको छ। हाल आयोजनामार्फत् भएका जोन र सुपरजोनमा हुने धानको उत्पादन बढेको क्लिकमाण्डु डटकमले जनाएको छ। परियोजनाको सुरुवात भएको वर्षमा देशभरका ब्लक, जोन र सुपरजोनमा ३५ हजार ७३८ मेट्रिकटन धान उत्पादन भइरहेको थियो । यो उत्पादन परियोजना अन्तर्गतका कुल ८२९९ क्षेत्रफलमा भएको हो । जोन र सुपरजोन करिब ६० हजार हेक्टरमा सञ्चालन भइरहेको छ । आव २०७७/०७८ को विवरणअनुसार ५७ हजार २७१ हेक्टरमा धानका जोन र सुपर जोन फैलिएको छ, जसमा कुल उत्पादन २ लाख ६६ हजार १७९ मेट्रिक टनभन्दा धेरै रहेको छ।

 

हाल परियोजनामार्फत् सञ्चालन भइरहेको जोन र सुपरजोन करिब ६० हजार हेक्टरमा सञ्चालन भइरहेको छ । आव २०७७÷०७८ को विवरणअनुसार ५७ हजार २७१ हेक्टरमा धानका जोन र सुपर जोन फैलिएका छन्, जसमा कुल उत्पादन २ लाख ६६ हजार १७९ मेट्रिक टनभन्दा धेरै धानको उत्पादन भइरहेको छ ।

प्रधानमन्त्री आधुनिकीकरण परियोजनाअन्तर्गत विभिन्न १५ बालीलाई राखिएको छ। यीमध्ये पनि धान, मकै र गहुँलाई प्रमुख बालीका रुपमा राखेर करोडौं बजेट बिनियोजन भइरहेको छ ।

परियोजना शुरुवात भएको ६ वर्षभन्दा धेरै समय भइसक्दा धानको उत्पादनमा उल्लेख्य प्रगति देखिएको छ । तर, यो प्रगति देशभर रहेको १४ लाख हेक्टर धान खेती हुने जमिनको सानो हिस्सामा मात्र हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत् अनुदान, यान्त्रिकरणको फाइदा र उत्पादन बढाउनका लागि आवश्यक समन्वय पाउने किसानहरु सीमित देखिएका छन् ।

हाल परियोजनाअन्तर्गत रहेका जोन र सुपरजोनमार्फत् भइरहेको उत्पादनले राष्ट्रिय उत्पादनमा औसतमा ३.८० प्रतिशत मात्रै योगदान गरेको छ । परियोजनाको क्षेत्र निश्चित मात्रै रहेको र विभिन्न बालीमा छरिएकाले यस्तो देखिएको परियोजनाका अनुगमन अधिकृत हिक्मत कुमार श्रेष्ठ बताउनुहुन्छ।