सूर्यविनायक–धुलिखेल सडक विस्तार सुरू
2022-09-20 16:04:52cri
Share with:

नेपाल सरकारले अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्म सडक विस्तार सुरु गरेको छ। जापानी सहयोग नियोग (जाईका) सूर्यविनायक–धुलिखेल सडक खण्ड विस्तारबाट पछि हटेसँगै सडक विभागले आन्तरिक स्रोतबाट नै निर्माण प्रकृया थालेको कारोबार अनलाइनले लेखेको छ।

सूर्यविनायक–धुलिखेल १५.९ किलोमिटरमध्ये विभागले दुई खण्डमा विभाजन गरेर निर्माण थाल्ने प्रकृया अगाडि बढाएको सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले बताउनुभयो। विभागले सूर्यविनायक–साँगा–धुलिखेल गरेर दुई भागमा खण्ड विभाजन गरेको छ। भक्तपुरमा साढे ७ किलोमिटर र काभ्रेतर्फ साढे ८ किलोमिटर सडक विस्तार गर्ने गरी प्रकृया थालिएको छ। पहिलो चरणमा विभागले साँगा–धुलिखेल (साढे ८ किलोमिटर) विस्तारको लागि बोलपत्र आह्वान गरेको महानिर्देशक थापाले बताउनुभयो। सूर्यविनायक–धुलिखेल पूरा खण्डकै भने करिब ९ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ।

आयोजना व्यवस्थापन गर्न र योग्य निर्माण कम्पनी छानेर समयमा नै आयोजनाले पूर्णता पाउन २ खण्डमा विभाजन गरेर बोलपत्र आह्वान हुने गरी विभागले प्रकृया अगाडि बढाएको महानिर्देशक थापाको भनाइ छ। साँगा–धुलिखेल खण्डको लागि आवेदनका आधारमा अर्को खण्डको पनि बोलपत्र आह्वान गर्ने योजना विभागको छ। सो खण्डमा ४ वटा पुल निर्माण गर्नु पर्नेछ। सूर्यविनायकदेखि साँगासम्म २ र साँगादेखि धुलिखेलसम्म अर्को २ वटा पुल निर्माण गर्नु पर्नेछ। आयोजनाले १४ भदौमा सूचना निकालेर बोलपत्र आह्वान गरेको सूर्यविनायक–धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजना प्रमुख इन्जिनियर रविन्द्रलाल दासले बताउनुभयो। उहाँले भन्नुभयो, “सो खण्डको लागि करिब ४ अर्ब ८९ करोड रुपैयाँ अनुमानित लागत आह्वान गरिएको छ। निर्माणको जिम्मा पाउने कम्पनीले ३ वर्षमा निर्माण पूरा गर्नु पर्नेछ र थप १ वर्ष मर्मत गर्नु पर्नेछ।”

आयोजना प्रमुख दासका अनुसार सडक ४ लेनमा विस्तार हुनेछ र बीचमा ३ मिटरको मेडियन निर्माण हुनेछ। साथै दुवैतर्फ सर्भिस लेनसहित दुई मिटरको फुटपाथ निर्माण गर्नुपर्ने हुन्छ। आगामी मंसिरबाट नै यो खण्डको काम सुरु गर्ने गरी काम सुरु गरिएको प्रमुख दासको भनाइ छ। सूर्यविनायक–साँगा खण्डको लागत चार अर्ब रुपैयाँ हाराहारी हुने आयोजनाको भनाइ छ।

सडक विस्तारसँगै बीपी राजमार्ग भएर सञ्चालन हुने सवारीसाधनको आगमन सहज हुने अपेक्षा गरिएको छ। वीपी राजमार्ग राजधानी काठमाडौंलाई पूर्वी तराई जोड्ने वैकल्पिक राजमार्ग हो। १ सय ६० किलोमिटर लामो वीपी राजमार्ग जापानले २०१५ मार्चमा सम्पन्न गरी नेपाललाई हस्तान्तरण गरेको थियो