नेपालको आर्थिक वृद्धिदर यसवर्ष ५.८ र आगामी वर्ष ४.७ प्रतिशतमा खुम्चने एडीबीको प्रक्षेपण
2022-09-22 15:43:56cri
Share with:

आगामी वर्ष नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशतमा खुम्चने प्रक्षेपण सार्वजनिक भएको छ। एसियाली विकास बैंक (एडीबी) ले बुधबार ‘एसियन डेभलपमेन्ट आउटलुक–२०२२’ प्रतिवेदन सार्वजनिक गर्दै सन् २०२२ मा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर ५.८ प्रतिशत र आगामी वर्ष ४.७ प्रतिशत कायम हुने प्रक्षेपण गरेको कान्तिपुर अनलाइनले लेखेको छ।

नेपालको आर्थिक वृद्धिदर चालु आर्थिक वर्षको तुलनामा आगामी वर्ष घट्नसक्ने पक्षेपणका पछाडि मुख्य तीनवटा कारणलाई जिम्मेवार ठानिएको छ। ‘नेपालको कसिलो मौद्रिक नीति, बढ्दो आयात र विदेशी मुद्रा सञ्चिती घट्दा आगामी वर्ष जीडीपी वृद्धिदर घट्ने अनुमान छ,’ एडीबीको प्रतिवेदनमा भनिएको छ।

‘आयात घटाउनका लागि विभिन्न निकायबाट चालिएका कदमहरूका कारण आन्तरिक खपत घट्ने र उपभोग निरुत्साहित हुने भएकाले लक्षित आर्थिक वृद्धिदर हासिल गर्न नकारात्मक जोखिम उत्पन्न हुन सक्छन्,’ एडीबीका देशीय निर्देशक आर्नौड काउसिसले भन्नुभयो, ‘कोभिड महामारीको प्रभाव, स्वास्थ्य प्रणालीमा नयाँ चुनौतीका रूपमा थपिएको डेङ्गी संक्रमण र विभिन्न प्राकृतिक प्रकोपका कारण अझै समस्या थपिएको छ।’

मनसुन सुध्रिएका कारण कृषि क्षेत्रको वृद्धिदर बढ्नसक्ने अनुमान गरिएको छ। तर सेवा क्षेत्र, घरजग्गा, थोक र खुद्रा बजार व्यापारजस्ता क्षेत्रहरू प्रभावित हुनेछन्। तर आगामी मंसिरमा तय भएको प्रदेश र संघको चुनावका कारण बजार चलायमान हुने भएकाले अर्थतन्त्रमा त्यसको सकारात्मक प्रभाव देखिने अनुमान गरिएको छ।

एडीबीले नेपालको मुद्रास्फीति दर भने घट्नसक्ने अनुमान गरेको छ। ‘सन् २०२२ मा नेपालको मुद्रास्फीतिदर ६.३ प्रतिशत पुग्नसक्ने देखिएकोमा सन् २०२३ मा घटेर ६.१ मा कायम हुनसक्छ,’ प्रतिवेदनमा भनिएको छ। सरकारले चालु आर्थिक वर्षका लागि आर्थिक वृद्धिदर ८ प्रतिशत पुर्‍याउने र मुद्रास्फीति दर साढे ७ प्रतिशतभन्दा बढी हुन नदिने लक्ष्य राखेको छ। एडीबीले आगामी वर्ष नेपालको चालु खाता घाटा पनि ८ प्रतिशतले घट्ने अनुमान गरेको छ।