पर्यटक आकर्षण गर्न विशेष प्याकेज घोषणा
2022-09-25 16:15:35cri
Share with:

विश्व पर्यटन दिवसको अवसर पारेर लुम्बिनी प्रदेशमा सेप्टेम्बर २७ तारिख अर्थात् असोज ११ गते आउने विदेशी पर्यटकलाई विशेष ‘अफर’ दिने गरी सरोकारवालाले प्याकेज घोषणा गरका छन्। ‘पर्यटनका लागि पुनर्विचार गरौँ’ भन्ने मूल नाराका साथ मनाउन थालिएको विश्व पर्यटन दिवसलाई विशेष महत्व दिँदै पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालय लुम्बिनी प्रदेशको अगुवाइमा पर्यटन क्षेत्रसँग सम्बद्ध विभिन्न सङ्घसंस्थाको सहकार्यमा यस्तो प्याकेजको घोषणा गरिएको गोरखापत्र अनलाइनले लेखेको छ।

विश्व पर्यटन दिवस मनाउन पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालयले गठन गरेको विश्व पर्यटन दिवस मूल समारोह समितिले कार्यक्रमबारे जानकारी दिन नेपाल र भारतका पत्रकार सहभागी गराई भैरहवामा पत्रकार सम्मेलनसमेत गरेको छ । 

विश्व पर्यटन दिवस सेप्टेम्बर २७ अर्थात् असोज ११ गते मनाउन लागिएको हो। सो अवसरमा लुम्बिनी प्रदेशमा पनि पर्यटक विशेष कार्यक्रम गर्न थालिएको पर्यटन विकास परिषद् लुम्बिनीका कार्यकारी प्रमुख रामु जोशीले जानकारी दिनुभयो। 

स्थलमार्गबाट सबैभन्दा बढी पर्यटक नेपाल भित्रिने बेलहिया नाका र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सबैभन्दा पहिले आउने विदेशी चार जना पर्यटकलाई असोज ११ गतेका दिन सम्मान गर्ने तथा होटल र ट्राभल निःशुल्क उपलब्ध गराउने गरी पर्यटन व्यवसायीले समेत प्याकेज घोषणा गरेका छन्। सरकार र व्यवसायीले छ महिनासम्म विशेष ‘अफर’ दिने प्रतिबद्धता जनाएका हुन्। प्रदेश सरकारद्वारा गठित विश्व पर्यटन दिवस मूल समारोह समितिका संयोजक तथा सिद्धार्थ होटल एसोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले असोज ११ गतेका दिन चार जना पर्यटकलाई तारे होटलमा आवास, खाना र पर्यटकीय गन्तव्यमा घुम्नका लागि गाडीको निःशुल्क व्यवस्था गरिएको बताउनुभयो। 

पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालयका सचिव जक्की अहमद अन्सारीले लुम्बिनी प्रदेश सरकारले पर्यटकलाई विशेष प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम गर्ने बताउनुभयो। नेपाल एसोसिएसन अफ ट्राभल्स एन्ड टुर एजेन्टस् (नाट्टा) लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष चन्द्रबहादुर थापाले पर्यटकलाई सहज रूपमा नेपाल घुमाउने र खुसीका साथ स्वदेश फर्काउने गरी तयारी गरिरहेको बताउनुभयो। त्यस अवसरमा पर्यटन विकास परिषद्का कार्यकारी अधिकृत रामु जोशीले लुम्बिनी प्रदेशका १२ जिल्लाका प्रमुख पर्यटकीय गन्तव्यका बारेमा जानकारी गराउँदै यस वर्षको पर्यटन दिवस उल्लासमय ढङ्गले पर्यटकलाई खुसी पार्ने गरी मनाउने बताउनुभयो।

पर्यटन दिवसका अवसरमा रुपन्देहीका होटलले २० प्रतिशत छुट दिने भएका छन्। त्यसैगरी रात्रिकालीन बजार, टुर प्याकेजलाई पनि विशेष प्राथमिकतामा राख्ने गरी कार्यक्रम अगाडि बढाउने व्यवसायीले घोषणा गरेका छन्।  बेलहियामा विगतदेखि हरेक वर्ष सेप्टेम्बर २७ का दिन पर्यटनसम्बन्धी विभिन्न गतिविधि गरेर यो दिवस मनाउने गरिएको छ। सन् १९८० देखि हरेक वर्ष सेप्टेम्बर २७ का दिन विश्वभर विविध कार्यक्रम गरी विश्व पर्यटन दिवस मनाउन थालिएको हो।