नेपाली मुद्रा इतिहासकै कमजोर
2022-09-25 16:18:37cri
Share with:

नेपाली रुपैयाँ इतिहासकै कमजोर भएको छ। नेपालको आयात घटेर वा नेपाली अर्थतन्त्रका कारण भने नेपाली मुद्रा अमेरिकी डलरको दाँजोमा कमजोर भएको होइन। अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएका कारण त्यसको प्रत्यक्ष असर नेपाली मुद्रामा परेको कारोबार अनलाइनले लेखेको छ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विनिमयदर अनुसार शुक्रबार एक अमेरिकी डलर बराबर १ सय २९ रुपैयाँ ६८ पैसा थियो भने शनिबार र आइतबार १ डलरको १२९.८९ रुपैयाँ छ। यसअघि ५ साउनमा एक अमेरिकी डलरको विनिमय दर १२८.२९ रुपैयाँ पुगेको थियो । त्यसपछि विस्तारै घट्न थालेको अमेरिकी डलरको भाउ १ सय २६ रुपैयाँसम्म झरेको थियो ।

नेपालले भारतीय मुद्रासँग नेपाली मुद्राको विनिमय दर स्थीर राखेको छ। त्यसैकारण भारतीय मुद्रा बलियो भए नेपाली मुद्रा बलियो हुन्छ, अनि कमजोर भए कमजोर हुन्छ। पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धि, भारतबाट बाहिरिरहेको वैदेशिक लगानीका कारण भारु कमजोर भइरहेको भारतीय पत्रपत्रिकाहरुले लेखेका छन्। पछिल्लो समय रूस–युक्रेन युद्धका कारण अमेरिकी अर्थतन्त्र बलियो हुँदै गएपछि विश्व बजारमा डलर महँगो बन्दै गएको छ। अमेरिकी डलर बलियो भएपछि भारतीय रुपैयाँलगायत विश्वका अन्य मुद्रा कमजोर हुँदै गएका छन्।

तर, डलर महँगो भए पनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ भने ओरालो लागेको छ। कच्चा तेलको मूल्य ब्यारेलको ८० डलर नजिक आएको छ। विश्व बजारमा नै डलर बलियो हुँदै जाँदा शनिबार १ डलर बराबर ८०.९१ भारू पुगेको भारतीय रिजर्भ बैंक (आरबीआई) ले जनाएको छ भने शुक्रबार ८०.७२ भारू थियो। भारतीय रूपैयाँ र नेपाली रुपैयाँबीच स्थिर विनिमयदर भएका कारण भारतीय रुपैयाँ कमजोर वा बलियो हुँदा त्यसैअनुरुप नेपाली रुपैयाँको भाउ निर्धारण हुन्छ।

नेपालले १ सय भारु बराबर १ सय ६० नेपाली रुपैयाँमा स्थिर विनिमय दर कायम राखेको छ। नेपालले भारतीय मुद्रासँग नेपाली मुद्राको विनिमय दर स्थिर राखेका कारण विनिमय दरमा नेपाली मुुद्राको अमेरिकी डलरसँग सिधै कुनै सम्बन्ध छैन।

तर, अमेरिकी डलरको भाउ बढेपछि नेपालले डलरमा खरिद गर्ने वस्तु तथा सेवाको भाउ स्वत: बढ्नेछ, जसले गर्दा चाडबाड अगाडि आन्तरिक बजारमा मूल्यवृद्धि हुन्छ। डलर बलियो हुँदा दैनिक उपभोग्य वस्तुहरूको मूल्यवृद्धि भइरहेको छ। राष्ट्र बैंकका अनुसार दसैँ लगायत चाडबाडमा मूल्यवृद्धि झन् माथि जाने देखिन्छ। वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति गत साउनमा ८.२६ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ। नेपाल राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तको तुलनामा २०७९ असारसम्ममा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ७ प्रतिशतले अवमूल्यन भएको थियो । तर, २०७९ असार मसान्तको तुलनामा गत साउनमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ०.३ प्रतिशतले अधिमूल्यन भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ ०.५ प्रतिशतले अधिमूल्यन भएको थियो ।

यसैबीच नेपाली बजारमा सुनको मूल्य पनि एकै दिन तोलाको एक हजार रुपैयाँले बढेको छ। बिहीबार प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन साताको अन्तिम दिन शुक्रबार प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ।