१५ हिमाल आरोहणका लागि ५०५ जना विदेशी आरोही नेपालमा
2022-09-26 18:02:44CRI
Share with:

शरदयामका लागि ८ हजार मिटर भन्दा अग्ला तीनसहित १५ वटा हिमाल आरोहण गर्न शुक्रबारसम्म पर्यटन विभागले ५ सय ५ जना विदेशीलाई अनुमति दिएको छ । विभागका निर्देशक युवराज खतिवडाका अनुसार, शुक्रबारसम्म १५ हिमाल आरोहणका लागि ५८ वटा आरोहण दलमा १ नेपालीसहित ५ सय ६ जनालाई अनुमति जारी गरिएको छ।

विभागका अनुसार, यी आरोहण दलमा १ सय २३ महिला र ३ सय ८३ पुरुषसहित ५ सय ६ जना सदस्य रहेका छन्। यसपटक सबैभन्दा धेरै गोरखाको मनास्लु हिमाल आरोहण गर्न ३८ वटा अरोहण दललाई अनुमति दिइएको छ । यसमा ९७ महिला र ३ सय ७ पुरुषगरी ४ सय ४ सदस्य छन् ।

मनास्लुपछि धौलागिरि हिमालका लागि ३४ जना , हिमलुङ हिमालका लागि १२ जनालाई आरोहण अनुमति दिइएको छ। अरु १२ वटा हिमालमा न्यूनतम २ देखि १० जना सम्मलाई अनुमति दिइएको छ। शरदयाममा सर्वाधिक आरोहणका लागि मनास्लु र अमादब्बलम हिमाल विदेशीहरुमाझ लोकप्रिय मानिन्छ। नेपालले वर्षायाम निख्रिनै लाग्दा शरदयामका लागि आरोहण अनुमति वितरण शुरु गर्ने गरेको छ।

नेपालले वसन्त, शरद, हिउँद–ग्रिष्म गरी तीन याममा आरोहण सञ्चालन गर्छ। विभागले सबैभन्दा धेरै आरोहण अनुमति वसन्तयाममा जारी गर्छ। वसन्तयामपछि धेरै आरोहण अनुमति जारी हुने सिजन शरदयाम पर्छ। विभागका निर्देशक खतिवडाले यो सिजनका लागि दसैंसम्म अनुमति जारी हुने बताउनुभयो। शुक्रबारसम्म जारी भएको अनुमतिबाट विभागले ५ करोड ५६ लाख सलामी दस्तुर संकलन गरेको कान्तिपुर अनलाइनले लेखेको छ।