बडादसैं सुरु, घटस्थापना गरी जमरा राखिँदै
2022-09-26 18:03:48CRI
Share with:

हिन्दु धार्मिक परम्पराअनुसार शारदीय नवरात्रको पहिलो दिन सोमबार घटस्थापना गरी घरघरमा जमरा राखिएको छ। चन्द्रमासअनुसार प्रत्येक संवत्सरको आश्विन शुक्ल प्रतिपदाको दिन घटस्थापना गर्ने चलन रहेको छ। शारदीय नवरात्रलाई नौरथा, नवरात्र र बडादसैं पनि भनिन्छ। घटस्थापना गरेर जमरा राखेसँगै बडादसैं सुरु भएको मानिन्छ।

नवरात्रमा खास गरी शक्तिकी देवी महाकाली, महालक्ष्मी, महासरस्वतीस्वरूपा नवदुर्गा (शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री) को पूजा गरिन्छ। यिनै दुर्गाका नौवटा रूपको पूजाआराधना गरिने भएकाले नवरात्र भनिएको हो। हिन्दु समाजमा घटस्थापनादेखि कोजाग्रत पूर्णिमा अर्थात् आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन बडादसैं मनाउने गरिएको छ। 

यस दिन घर वा सामूहिक देवीघरमा माटाको घट (कलश) स्थापना गरी घटको वरिपरि गोबर टाँसेर भिजाइएको जौ राखिन्छ। कतैकतै जमराका लागि जौसँगै मकै, गहुँलगायत अन्न भिजाएर राख्ने पनि गरिएको पाइन्छ। सो जमरालाई प्रत्येक दिन बिहान–बेलुका नवदुर्गाको पूजा गरी जल चढाउने गरिन्छ। 

यस दिन पवित्र ठाउँ पूजाकोठा वा देवीघरमा आसन ओच्छ्याएर दियो, कलश र गणेशको पूजा गर्ने शास्त्रीय विधान छ। तामाको थालीमा चन्दन वा केशरले षट्कोण र त्यसको बाहिरपट्टि अष्टदल कमलको आकार तयार पारी त्यसमा ‘नवाक्षरस्य मन्त्रस्य बीजानि विलिखेत्ततः’ अर्थात् नवाक्षर मन्त्र वा बिज मन्त्र लेख्नुपर्ने नागरिकन्यूज डटकममा खबर छ।  

अथवा ‘ॐ दुर्गे दुर्गे रक्षिणी स्वाहा’ मन्त्र लेखी महाकाली, महालक्ष्मी र महासरस्वतीस्वरूपा श्री दुर्गा भवानीको विधिपूर्वक न्यासध्यान गरी स्थापना र प्राणप्रतिष्ठा गरेर षोडशोपचारले पूजा गर्नु भनिएको छ। दुर्गा भवानीलाई खुसी पारी शक्ति प्राप्त गर्न ‘ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे’ नवार्ण मन्त्र १०८ पटक जपी नवरात्रभर प्रत्येक दिन दुर्गा सप्तशती या चण्डीपाठ गर्नुपर्ने, सकेसम्म प्रत्येक दिन १०८ हवन र कन्या पूजा गर्नुपर्ने देवीभागवतमा छ। 

घटस्थापनाका दिन ‘शैलपुत्री’स्वरूपा दुर्गा भवानीको पूजाआराधना गरिन्छ। आदि शक्ति दुर्गाले पर्वतराज हिमालयकी पुत्रीको रूपमा जन्म लिएकाले उनको नाम शैलपुत्री रहन गएको शास्त्रमा उल्लेख छ। उनको आराधना गर्नाले धनधान्य, सौभाग्य, आरोग्य, मोक्ष तथा सबै प्रकारका मनोकामना पूर्ण हुने विश्वास गरिन्छ। शैलपुत्रीलाई वैज्ञानिक रूपमा सम्पूर्ण शक्तिको सम्भावनाको स्वरूप मानिन्छ। यस दिन दुई वर्षकी कन्यालाई ‘कुमारीदेवी’ को नामले पूजा गर्ने परम्परा छ।

यसरी घटस्थापनाका दिन विधिपूर्वक राखिएका जमरा नवरात्रको भोलिपल्ट विजया दशमीका दिन देवी विसर्जन गरी ठूलाबडाको हातबाट टीकासँगै जमरा लगाउने र आशीर्वाद लिने चलन रहेको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले घटस्थापनाको शुभ साइत बिहान १० बजेर २३ मिनेटमा रहेको जनाएको छ।