आज ४३ औँ विश्व पर्यटन दिवस, नेपालमा विभिन्न कार्यक्रमको आयोजना गरिँदै
2022-09-27 16:24:36CRI
Share with:

आज ४३ औँ विश्व पर्यटन दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। दिवसलाई सरकार र निजी पर्यटन व्यवसायीहरूले विभिन्न कार्यक्रम गरी मनाउन सुरु गरेको छ। ४३ औँ विश्व पर्यटन दिवसको अवसरमा पर्यटन क्षेत्रमा संलग्न सम्पूर्णमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले शुभकामना व्यक्त गरेको गोरखापत्र अनलाइनले जनाएको छ।

नेपालमा रहेका पर्यटकीय उपजहरूलाई पहिचान , विकास , सञ्चालन , प्रवर्द्धन र संवर्द्धन गर्दै विश्वभरिका पर्यटकलाई नेपालमा आकर्षण गरी विदेशी मुद्राको आर्जन , रोजगारी सिर्जना र राष्ट्रिय आयको अभिवृद्धि गरी पर्यटन उद्योगलाई मुलुकको अर्थतन्त्रको बलियो आधार स्तम्भको रूपमा स्थापित गर्न प्रबल सम्भावना रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ को महामारीबाट पर्यटन क्षेत्र आहत भई पुनरुत्थानको चरणमा छ । कोभिड १९ को महामारी पछिको अवस्थामा पर्यटन क्षेत्रको विविधीकरण र ब्राण्डिङ्गमा समयानुकूल पुनर्विचार गर्दै नयाँ अवसरहरूको पहिचान र उपयोग गर्नु पर्ने अवस्था सिर्जना गर्न मन्त्रालय लागि परेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले बताउनुभयो ।

नेपालमा अवस्थित प्राकृतिक, धार्मिक तथा सांस्कृतिक र साहसिक गन्तव्यहरूका कारण पर्यटन क्षेत्र तुलनात्मक एवम् प्रतिस्पर्धात्मक लाभ भएको क्षेत्रको रूपमा पहिचान गरिएको छ।त्यसैले निजी क्षेत्र र सरकारी क्षेत्रको सामूहिक प्रयासबाट पर्यटन क्षेत्रलाई थप विकास र विस्तार गर्ने तथा पूर्वाधार निर्माणमा जोड दिने र यस क्षेत्रलाई उद्योगको रूपमा विकास गर्ने कार्यक्रम अघि सारेको मन्त्री श्रेष्ठले बताउनुभयो।मन्त्रालयले नेपालको पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजना २०७९ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ भने सन् २०२३ देखि २०३२ लाई नेपाल भ्रमण दशक मनाउने निर्णय गरेको छ।