चराका आधा प्रजाति संकटमा रहेको अन्तर्राष्ट्रिय प्रतिवेदनको ठहर, नेपालका २० प्रतिशत चरा संकटमा
2022-09-29 16:13:31CRI
Share with:

पृथ्वीको वातावरणीय स्वास्थ्यको सूचक मानिने चराहरूको कुल प्रजातिको आधाजसो प्रजाति ह्रासोन्मुख रहेका र हरेक आठ प्रजातिमध्ये एक प्रजाति विलुप्त हुने सँघारमा रहेको देखिएको छ। विश्वका चराहरूबारे हरेक चार वर्षमा प्रकाशित हुने ‘स्टेट अफ वल्र्डस् बर्डस्–२०२२’ नामक अन्तर्राष्ट्रिय अध्ययन प्रतिवेदनका अनुसार कृषिको विस्तार, डढेलो, प्राकृतिक संसाधनको दोहन, जलवायु परिवर्तन, वनविनाशलगायतका कारण यति ठुलो स्तरमा चराको प्रजातिले संकट बेहोर्नुपरेको हो। 

मुख्य रूपमा मानवीय क्रियाकलाप र जलवायु परिवर्तनका कारण पृथ्वीमा पाइने चराका कुल प्रजातिमध्ये ४९ प्रतिशत ह्रासोन्मुख अवस्थामा रहेको प्रतिवेदनको निष्कर्ष छ। सन् २०१८ मा सार्वजनिक गरिएको प्रतिवदेनमा विश्वका ४० प्रतिशत चराहरूका प्रजाति ह्रासोन्मुख रहेको देखिएको थियो। चराहरूको संरक्षणमा कार्यरत अन्तर्राष्ट्रिय संस्था वल्र्ड लाइफ इन्टरनेसनलले मंगलबार सार्वजनिक गरेको उक्त अध्ययन प्रतिवेदनका अनुसार कृषिको विस्तार तथा सघनताका कारण चराहरूका कुल प्रजातिमध्ये ७३ प्रतिशतलाई बाँच्न चर्को दबाब सिर्जना भएको छ। विश्वमा चराका ११ हजार प्रजाति रहेको मानिएको छ। 

सन् २००४ देखि प्रकाशन सुरु गरिएको प्रतिवेदनको पाँचौं संस्करणअनुसार सन् १५०० यता कम्तीमा १८७ प्रजाति विलुप्त भइसकेका छन्। यी अधिकांश प्रजाति सामुद्रिक टापुहरूमा पाइने स्थानीय प्रजाति रहेका तर पछिल्ला वर्षहरूमा उष्ण कटिबन्धीय क्षेत्रका जमिनमा पाइने चराहरू पनि विलुप्त हुँदैछन्। विश्वको पारिस्थितिकीय प्रणालीमा परागकण संवाहक, बिउबिजन फैलाउने, सिनो खाएर वातावरण सफा राख्ने तथा इकोसिस्टम इन्जिनियरका रूपमा चराले महत्वपूर्ण भूमिका निर्वाह गर्ने गरेका छन्। 

स्टेट अफ वल्र्डस वर्डस–२०२२ ले चराहरूको संरक्षणका लागि आगामी एक दशक अत्यन्त महत्वपूर्ण रहेको र यो अवधिमा संरक्षणका गम्भीर प्रयास नगरिएमा चराहरूका थप प्रजाति सदाका लागि विलुप्त हुने चेतावनी दिएको छ। सन् २०३० भित्रै विश्वले चरा संरक्षणका १२ कार्य गर्न प्रतिवेदनले सुझाएको छ। 

नागरिकन्यूज डटकमका अनुसार चराविद् डा. हेमसागर बराल नेपालमा पाइने कुल ८ सय ९१ चराका प्रजातिमध्ये २० प्रतिशत प्रजाति संकटमा रहेको बताउनुभयो। उहाँ सिमसार क्षेत्रका चराहरू अत्यधिक संकटमा रहेको र घाँसेमैदान र वनमा आधारित चराहरूमा संकट बढ्दो क्रममा रहेको बताउनुहुन्छ। भौगोलिक हिसाबले पृथ्वीका सतहको शून्य दशमलव १ प्रतिशत हिस्सा ओगटेको नेपालमा विश्वमा पाइने चराहरूको कुल प्रजातिमध्ये झन्डै ९ प्रतिशत प्रजाति रहेका छन्। विशिष्ट भौगोलिक अवस्था तथा उचाइमा रहेको भिन्नताका कारण जैविक विविधताको हिसाबमा नेपाल धनी मानिन्छ। 

राष्ट्रिय वन्यजन्तु तथा संरक्षण विभागका महानिर्देशक डा. महेश्वर ढकाल कृषिबालीमा प्रयोग गरिने विषादी र रासायनिक मलको प्रयोग, जल तथा वायु प्रदूषण, जलवायु परिवर्तनलगायत कारणले चराहरूको संरक्षणमा चुनौती थपिएको भनाइ राख्नुभयो। दुर्लभ र लोपोन्मुख चराहरूको संरक्षणमा विशेष ध्यान दिनुपर्ने तर्क उहाँको छ।