लुम्बिनी तिलौराकोटसम्म निःशुल्क विधुतीय बस सञ्चालनमा आउँदा आन्तरिक पर्यटक खुशी
2022-10-03 16:53:35cri
Share with:

 

भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा थन्किएर रहेको विद्युतीय बस कपिलवस्तुको तिलौराकोटसम्म सञ्चालनमा आएपछि स्थानीय बासिन्दा खुशी भएका छन्। गौतमबुद्धले आफ्नो जीवनको २९ बर्ष बिताएको ठाउँ तिलौराकोटसम्म बस सञ्चालनमा आएपछि यसको प्रचारप्रसार र संरक्षणमा थप टेवा पुग्ने विश्वास स्थानीयको रहेको गोरखापत्र अनलाइनले लेखेको छ। 

लुम्बिनीसँगै तिलौराकोटको प्रचारप्रसार गर्न र लुम्बिनी आउने पर्यटकलाई लक्षित गरेर बिजुली बस सेवा सञ्चालन गरिएको हो। लुम्बिनी विकास कोषले सञ्चालन गरेको विद्युतीय बस निःशुल्क चढेर कपिलवस्तुमा रहेका विभिन्न पुरातत्विक स्थलको भ्रमण गर्न सकिने भएपछि स्थानीय उत्सहित भएको स्थानीय राजकुमार यादवले बताउनुभयो। 

उहाँले भन्नुभयो, “बस सुचारु भएपछि जिल्लामा भएका गरिब गुरुवाहरुलाई जोसँग पैसा हुँदैन, लुम्बिनी जाने इच्छा पूरा हुन्छ।” दशैंको बेलामा लुम्बिनीमा आएका पर्यटकहरु निःशुल्क बस चढेर तिलौराकोट भ्रमण गर्न र यहाँका महत्व बुझ्न पाउने उहाँको भनाइ छ। 

सञ्चालनमा आएको निःशुल्क विद्युतीय बसले कपिलवस्तुबासी सजिलै बुद्ध जन्मस्थल लुम्बिनी, बुद्धको अस्तु भएको रामग्राम र देवदह लगायतका स्थलमा भ्रमण गर्न सक्नुहुने  स्थानीय वशिष्ठ तिवारीले बताउनुभयो। कपिलवस्तुमा रहेको तिलौराकोट, निग्लिहवा, गोटिहवा र कुदान लगायतका अन्य ठाउँबाट सजिलै आन्तरिक पर्यटक आवागमनमा बढवा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो।

लुम्बिनी विकास कोषलाई अनुदान प्राप्त भए पनि विभिन्न ऐन कार्यविधि निर्माण र कोरोनाका कारण बस तीन वर्षदेखि थन्किएको अवस्थामा थियो। अहिलेको कार्यसमितिले सञ्चालनमा ल्याएको कोषका परिषद् सदस्य गोपीकृष्ण शर्माले बताउनुभयो। बस थन्किएपछि विभिन्न तहबाट धेरै कुराहरु उठेपछि कार्यसमितिले कार्यविधि बनाएर सो बस सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो। 

जनतालाई गोटिहवा, तिलौराकोट, कुदानलगायत पुरातत्विक स्थलको भ्रमण गराउन लुम्बिनी विकास कोषले दीर्घकालिन सोच बनाएर बस सञ्चालन गरेको सदस्य शर्माले बताउनुभयो। बस सञ्चालनको निरन्तरताका लागि हामीलगायत सबै सरोकारवालाको सहयोग हुन जरुरी छ, उहाँले भन्नुभयो।  

लुम्बिनी क्षेत्रमा अत्यधिक भएको प्रदूषण केही हदसम्म रोक्न एडीबीले लुम्बिनीमा सञ्चालन गर्न तीन वर्ष अगाडि पाँचवटा विद्युतीय बस र १४ वटा विद्युतीय ट्याक्सी कार लुम्बिनी विकास कोषलाई अनुदानमा दिएको थियो। दशैं तिहारलाई लक्षित गर्दै बुद्ध सर्किटको पाँच रुट बस परीक्षणकालका लागि सुचारु गरिएको छ।

पाँचवटा बसमध्ये एउटा बस बुटवल–भैरहवा–बेलहिया–एयरपोर्ट हुँदै लुम्बिनी, दोस्रो बस बेलहिया–भैरहवा–एयरपोर्ट हुँदै लुम्बिनी, तेस्रो बस नवलपरासी–रामग्राम–भैरहवा–बेलहिया एयरपोर्ट हुँदै लुम्बिनी, चौंथो बस कपिलवस्तु–तिलौराकोटबाट लुम्बिनी र पाँचौँ बस लुम्बिनी वरिपरि सञ्चालन हुने रुट तय गरिएको शर्माले बताउनुभयो।