पिङ संस्कृति जोगाउन युवाहरु सक्रिय
2022-10-04 16:47:00cri
Share with:

 

दशैं र तिहारको अवसरमा गाउँघरमा खेलिने लिङ्गे पिङ लोप हुँदै गएपछि रुपन्देही सैनामैना नगरपालिका १० सालझण्डीका युवाहरू पिङ संस्कृति संरक्षण गर्न लागिपरेका छन्। पिङ नै हराउन थालेको भन्दै स्थानीय सालझण्डी ब्वाइज क्लब र विश्व शान्ति युवा क्लबले पहिलो पटक सालझण्डीमा लिङ्गे पिङ सुरु गरेका गोरखापत्र अनलाइनले लेखेको छ। 

दशैं तिहारको समयमा युवाहरूलाई रमाइलो दिन र हराउँदै गएको संस्कृति संरक्षण गर्न पिङ हालिएको लुम्बिनी व्वाइज युवा क्लबका सदस्य लक्ष्मण भट्टराईले बताउनुभयो। 

“गाउँघरमा दशैं सुरु भइसक्यो, वातावरण पनि दशैंको माहौलमा रम्न थालिसकेको छ। दशैंको रमझम सुरु भएसँगै गाउँघरमा लिङ्गे पिङ खेल्दै रमाउने बेला भइसक्यो। तर सैनामैनाका अरू क्षेत्रमा लिङ्गे पिङ थापेको कहीँ कतै देखिँदैन” क्लबका सदस्यहरूको भनाइ छ। 

दशैंमा पिङ खेल्ने परम्परा ओझेलमा परिसकेको छ। यही ओझेलमा परेको परम्परा संरक्षण गर्ने अभियान चलेको हो। अभियानमा सैनामैना सालझण्डी क्षेत्रका युवाहरू अगाडि देखिएका छन्। पुरानो संस्कृति संरक्षण गर्नुपर्छ भन्ने धारणाले अभियान सुरु गरिएको उहाँहरूको बुझाइ छ। बाबु बाजेको पालादेखि सुरु भएको परम्परा र संस्कृति जोगाउनु पर्छ भन्ने उद्देश्यले सालझण्डीमा दुई वटा युवा क्लबले यो वर्ष पहिलो पटक पिङ हालेका छन्। 

सालझण्डीकै झिमझिमेमा समावेशी युवा क्लबले यो वर्ष पहिलो पटक लिङ्गे पिङ हालेको छ। क्लबका पदाधिकारीहरू पनि पिङ संस्कृति संरक्षण गर्ने प्रयास थालेको बताएका छन्। क्लबका अध्यक्ष मदन रेग्मीले गाउँघरमा रमाइलो गर्ने माध्यम नै नहुँदा युवाहरू बरालिने डर भएको र पुरानो संस्कृति पनि संरक्षण गर्ने उद्देश्यले यो वर्ष पिङ हालेको बताउनुभयो। 

रेग्मीका अनुसार वर्षमा एक पटक धर्ती छाड्नै पर्ने मान्यता रहेकाले पनि पुरानो संस्कृति संरक्षण गर्न र लोप हुनबाट जोगाउन पिङ हालिएको हो।