चीनमा ससुराली देशबाट आयातित चाड दशैँ
2022-10-05 16:25:32cri
Share with:

चिनियाँसँग बिहे गरेका नेपाली चेलीहरुले हरेक वर्ष जस्तै यो वर्षको दशैँ पनि धुमधामसँग मनाएका छन्। यसपटक उनीहरुलाई दशैँ मनाउने समय पनि अनुकूल थियो। यतिबेला चीनमा राष्ट्रिय दिवसको साप्ताहिक सुनौलो बिदाको अवधि हो। अक्टोबर १ तारिख चीनको राष्ट्रिय दिवस हो। यस अवसरमा चीनमा एक साताको बिदा हुने गर्छ। दशैँ पनि यही बेला परेपछि नेपाली चेलीले आफ्ना छोराछोरीलाई रमाएर टीका लगाइ दिएका नेपाल भ्युज अनलाइनले लेखेको छ।

यो पटक चीनमा पनि सार्वजनिक बिदा भएकाले बुधबार बिहान सपरिवार भेला भएर आफ्ना छोराछोरीलाई टीका लगाइ दिएर विभिन्न नेपाली परिकार बनाएर खाएका छन्। घटस्थापनामा राखेको जमरासँगै टीका लगाएर आशीर्वाद दिँदै नेपालमा जस्तै चाड मनाएको उनीहरुले बताएका छन्।

चिनियाँसँग बिहे गरेका नेपाली चेलीमध्ये रबिना राई, माया मगर र सुमित्रा राईले बुधबार बिहान दशैँको टीका लगाएका हुन्। रबिना र सुमित्रा सोलुखुम्बुका हुन् भने माया सिन्धुपाल्चोककी हुन्।

सन् २००८ मा चीनको आन्हुई प्रान्तका चिनियाँसँग प्रेम विवाह गरेर आएकी सोलुखुम्बुकी रबिना राईका १३ वर्षीय छोरी र ८ वर्षीय छोरा छन्। रबिनाले पहिले आफ्नो श्रीमान् र सासूससुरासँगै टीका लगाइन् र आफ्ना छोराछोरीलाई टीका लगाइ दिइन्। त्यसैगरी उनको घरमा आइपुगेका गाउँले बिहनी सुमित्रा राईको परिवारलाई पनि टीका लगाइ दिइन्। पाहुनासँगै घरपरिवार मिलेर दशैँ मनाउन पाउँदा खुशी लागेको रबिनाले बताएन्। उनीहरुले टीका लगाएको हेर्नका लागि छिमेकी चिनियाँहरु पनि भेला भएका थिए।

रबिनाले भनिन् 'बिहे गरेर चीनमा आएको १४ बर्ष नाघिसक्यो। कहिलेकाहीँ नेपाल जाने गरे पनि कोरोना महामारीका कारण चार वर्षदेखि नेपाल जान नपाएको उनले गुनासो गरिन्। आफूले चिनियाँसँग बिहे गरे पनि आफ्ना छोराछोरीलाई नेपाली संस्कार र संस्कृति सिकाइरहेको उनले बताइन्।

सिन्धुपाल्चोकी माया मगरले सन् २०११ मा चीनको चच्याङ प्रान्तको निङपो बसोबास गर्ने चिनियाँ युवासँग प्रेम विवाह गरेर चीन आइन्। उनका पनि एक छोरी र एक छोरा छन्। कोरोना अगाडिका दशैँमा प्राय नेपाल पुग्ने माया चार वर्षदेखि नेपाल जान पाएकी छैनन्। कोरोना अगाडि उनी नेपाल जान नपाउँदा आमालाई चीनमै बोलाउने गर्थिन्। अनि दशैँमा आमाको हातको टीका लगाउने उनको चलन थियो।

कोरोनापछि भने उनले चिनियाँ परिवारसँग दशैँ मनाउन थालेकी छन्। नेपाल जस्तो रमाइलो नभए पनि टीका लगाउने र शुभकामना आदानप्रदान गर्ने गरेको उनले बताइन्। उनले भनिन् 'यसपटकको दशैँ चीनमा पनि सार्वजनिक बिदा परेकाले राम्ररी टीका लगाउन पाइयो। नत्र त छोराछोरी बिहानै स्कुल गइहाल्छन्। एक्लै के दशैँ मनाउनू।'

सुमित्रा राईले चिनियाँसँग बिहे गरेर चीनमा आएको तीन वर्षभन्दा बढी भयो। सुमित्राकी दिदी सकुन्तला राई सन् २००८ मै चिनियाँसँग बिहे गरेर चीनको आन्हुई प्रान्तमा आएकी थिइन्। यतिबेला सकुन्तला राई चाहिँ दशैँ मनाउन नेपाल गएकीले सुमित्रा राईले आफ्नी गाउँले दिदी रबिना राईको घरमा पुगेर दशैँ मनाएकी छन्। आफ्नो दुई बर्षे छोरा र श्रीमानसहित रबिनाको घरमा टीका लगाउन गएको सुमित्राले बताएन्। रमाइलो मान्दै सुमित्राले भनिन् 'गाउँमा भए पेरुङ्गामा सुँगुरको साप्रो र रक्सीका बोतल लिएर टीका लगाउन माइती गइन्थ्यो होला। यहाँ चिनियाँ परिवारमा बियर कोसेली लिएर आइयो।' रबिना दिदी र चिनियाँ भेनाबाट निधारभरि टीका लगाएर आशीर्वाद लिँदा आफूले नेपालमा माइतीघर नै पुगेको अनुभव गरेको सुमित्राले सुनाइन्।

त्यसो त चिनियाँसँग बिहे गरेका नेपाली चेलीहरुले दशैँसँगै तिहार, तीज र अन्य चाडपर्व पनि मनाउँछन्। नेपाली चाडपर्ब आउँदा युट्युबमा गीत हेरेर रुने र नेपालमा भिडियो कल गरेर दुःख बिर्साउने कार्य त उनीहरुको नियति भइहाल्यो। यस बाहेक आफ्ना छोराछोरीलाई नेपाली संस्कृति सिकाउनका लागि नेपाली पोशाक लागएर टीका लगाइ दिने र आफूभन्दा ठूलालाई ढोग्दै आशीर्वचन लिने परम्परा पनि सिकाएका छन्।

रबिना, माया र सुमित्रा जस्ता सयौँ नेपाली चेलीहरु चीनमा बिहे गरेर बसेका छन्। कोही खुलेर नेपाली चाड मनाउँछन् भने कोही नेपाली चाडबाड सम्झिएर भिजेका आँखामा टिस्युपेपर रड्छन्।  

एक अर्ब ४० करोड जनसंख्या भएको चीनमा स्थानीय चिनियाँ कोही पनि हिन्दू धर्म मान्दैनन्। ३५ देखि ४० प्रतिशत चिनियाँहरु बुद्ध धर्म मान्छन् भने केही क्रिश्चियन धर्म मान्छन्। चीनको पश्चिमी भागमा पर्ने कान्सु र सिङचियाङ प्रान्तमा भने अधिकांश इस्लाम धर्म मान्ने गर्छन्। स्थानीय चिनियाँले दशैँ नमनाए पनि नेपालीसँग बिहे गरेकाले उनीहरु दशैँका बारेमा भने परिचित छन्। ससुरालीबाट आयातित चाड दशैँमा चिनियाँहरु पनि रमाउँदै आएका छन्।