नेपाली आमाले चिनियाँहरुलाई दशैँको टीका लगाइ दिनुभयो
2022-10-06 16:06:59cri
Share with:

नेपालीहरुले चिनियासँग मिलेर दशैँ मनाएका छन्। चीनको दक्षिणपूर्वमा पर्ने चच्याङ प्रान्तको यिऊ सहरमा बुधबार बिहान चिनियाँ समय अनुसार ११ बजेर ५५ मिनेटमा एक रेष्टुरेन्टमा भेला भएर चिनियाँ र नेपालीले संयुक्त रुपमा दशैँ मनाएका नेपाल भ्युज अनलाइनले लेखेको छ।

भगवतीको प्रसादको रुपमा नेपाली महिला अम्बिका डोटेलले सबैलाई उपस्थित नेपाली तथा चिनियाँहरुलाई टीका लगाइ दिनुभयो। जेष्ठ सदस्यका रुपमा ५६ वर्षीय अम्बिकाले सबैलाई टीका लगाइ दिनु भएको हो। नेपालको सूदुर पश्चिम डोटीकी स्थायी बासिन्दा अम्बिका डोटेल काठमाडौँको कुमारीगलमा बस्नुहुन्छ। उहाँ केही दिन अगाडि मात्र आफ्नो छोरा मोहन डोटेलको निमन्त्रणामा चीन आउनु भएको हो। उहाँले सबैलाई टीका लगाएर आशीर्वाद दिनु भएको छ। मोहन डोटेल चीनमा बसेर व्यवसाय गरिरहनु भएको छ।

अम्बिका डोटेलपछि राजकुमार खड्काले पनि सबै सहभागीलाई टीका लगाइ दिनु भएको थियोश्र खड्का गैरआवासीय नेपाली संघ चीन शाखाको सल्लाहकार र नेपाल चीन चेम्बर अफ कमर्स यिऊ शाखाका वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ।   

बुधबार बिहानदेखि नै यिऊको कातिया रेष्टुरेन्टमा नेपाली र चिनियाँहरु भेला भएका थिए। कातिया रेष्टुरेन्ट सुरज शर्माले हालसालै खोलेको नेपाली रेष्टुरेन्ट हो। शर्मा गैरआवासीय नेपाली संघ चीन शाखाका केन्द्रीय सदस्य हुनुहुन्छ। नेपाली समुदायले आयोजना गरेको उक्त दशैँ कार्यक्रमको संयोजन सन्जन माकाजु र जीवन मैनालीले गर्नु भएको हो। माकाजु गैरआवासीय नेपाली संघ क्षेत्रीय कमिटीका सचिव र मैनाली सदस्य हुनुहुन्छ।

टीका लगाउन भेला भएका ५० जनामध्ये ४० प्रतिशत चिनियाँ र ६० प्रतिशत नेपाली रहेको यिऊबाट विष्णुप्रसाद दुमरुले बताउनुभयो। टीका लगाइसकेपछि नेपाली पाराको सेलरोटी, पुरी, तरकारी र अचारको खाजा बाँडिएको थियो। मध्य दिउँसो केही सहभागी आफ्नो घरतिर गएका थिए भने केही दिनभर रेष्टुरेन्टमा नाचनाग गरेर बसेको दुमरुले बताउनुभयो।,

यिऊ विश्वविख्यात थोक खरिद बजार हो। सो बजारबाट विश्वका विभिन्न कुनामा सामान पुग्ने गर्छ। यिऊबाट स्पेनको म्याड्रिडसम्मको विश्वकै सबैभन्दा लामो मालबाहक रेलवे सेवा सञ्चालनमा छ। यिऊबाट नेपालमा पनि सामानहरु जाने गर्छ। सो क्षेत्रमा नेपाल चेम्बर अफ कमर्सको शाखा र गैरआवासीय नेपाली संघको चीन अन्तर्गतको शाखा पनि क्रियाशील रहेको छ। दुवै संस्थाको सक्रियतामा यिऊमा विभिन्न सामाजिक गतिविधि हुँदै आएका छन्। विशेष गरी नेपाली उत्पादनलाई चीनमा प्रवर्द्धन गर्ने र नेपाली पर्यटनको प्रचार गर्ने उद्देश्यले चीनमा विविध कार्यक्रम हुने गरेको छ। यसका अतिरिक्त नेपालमा लगानी गर्नका लागि यी दुवै संस्थाले चिनियाँलाई विशेष पहल गर्दै आएका छन्।