घारखोला जलविद्युत् आयोजना अन्तिम चरणमा
2022-10-08 15:41:07cri
Share with:

 

म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–६ घारमा निर्माणाधीन १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ । ०७४ चैतदेखि निर्माणाधीन आयोजनाले ९२ प्रतिशत निर्माण सकेको र आगामी मंसिरदेखि परीक्षण उत्पादन थाल्ने लक्ष्यसहित काम भइरहेको प्रवर्द्धक कम्पनी म्याग्दी हाइड्रोपावर लिमिटेडले जनाएको कान्तिपुर अनलाइनले लेखेको छ ।

बाँध र डिसेन्टरमा पानी हालेर परीक्षण भइरहेको आयोजनाका मुख्य इन्जिनियर जोसेफ बज्राचार्यले बताउनुभयो । तीन मिटर डायग्रामको सुरुङ प्लास्टर गर्ने काम सकेर तिहारपछि सुरुङको परीक्षण गरिने उहाँको भनाइ छ । अहिले सुरुङ प्लास्टर, विद्युत् गृहमा उपकरण जडान, प्रसारण लाइन र सबस्टेनका काम भइरहेका छन् । ‘तिहारअघि नै टनेलमा पानी हाल्ने लक्ष्यसहित काम गरिरहेका छौं । कुनै समस्या नआए मंसिर अन्तिमबाट विद्युत् परीक्षण उत्पादन गर्छौं,’ प्रवर्द्धक लिमिटेडका अध्यक्ष भरत नेपालले भन्नुभयो, ‘कोरोना कहरले लक्ष्यभन्दा एक वर्ष लम्बियो ।’

अमिलाकाफलको आउटलेटबाट १२ सय मिटर पेनस्टक पाइपलाई ४ सय ८५ मिटर हेडबाट बेनी–जोमसोम सडकको पोखरेबगरमा रहेको विद्युत् गृहमा जोडिसकिएको छ । टर्बाइन, जेनेरेटरलगायत इलेक्टोमेकानिकलतर्फका उपकरण जोड्ने काम सुरु भएको छ । पोखरेबगरदेखि २२० केभीए दाना सबस्टेसनसम्म ८ किमि ३३ केभीए डबल सर्किट प्रसारण लाइनको पोल गाड्ने, तार टाँग्नेलगायत सबस्टेसनमा सिभिल संरचनाको काम भइरहेको बज्राचार्यले जनाउनुभयो ।

२ अर्ब ४२ करोड लागत अनुमान गरिएको आयोजना निर्माण ०७८ माघमा सक्ने लक्ष्य थियो । तर कोरोना, निषेधाज्ञा, बन्दाबन्दी, प्राकृतिक विपद्समेतका कारणले करिब एक वर्ष ढिलाइ भएको आयोजनाले जनाएको छ । ‘थ्रीसी’ मोडलमा निर्माण भइरहेको घारखोला जलविद्युत् प्राधिकरणको सिभिल इन्जिनियर साउथ एसियन इन्फ्रास्ट्रक्चर प्रालि, इलेक्ट्रो मेकालिकलमा सिमर इनर्जी प्रालि भारत, हाइड्रो मेकालिकलमा सीई हाइड्रो मेकानिकल प्रालि, ट्रान्समिसनको काम रोयल कन्स्ट्रक्सन प्रालि र परामर्शदाताका रूपमा हाइड्रो कन्सल्ट इन्जिनियरिङ लिमिटेड छन् ।