चीनको छन्तुमा रहेको नेपाली महावाणिज्य दूताबासमा नेपालीहरुले दशैँ मनाए
2022-10-09 16:33:09cri
Share with:

झण्डै एक महिना लामो लकडाउन समाप्त भएसँगै चीनको छन्तुस्थित नेपाली महावाणिज्यदूताबासमा बडादशैँ मनाइएको छ। महावाणिज्यदूत दिनेशकुमार घिमिरेले नियोगमा आमन्त्रित ३० बढी नेपालीलाई टीका, जमरा लगाइ बडादशैँको शुभकामना दिनु भएको नेपाल समाज अनलाइनले लेखेको छ।

सो अवसरमा महावाणिज्यदूत घिमिरेले सिछुवान र क्वीचौ प्रान्त तथा छोङ्गछिङ्ग शहरमा रहेका नेपालीलाई आफूलाई परेको समस्यामा महावाणिज्यदूताबासको सहयोग लिन र नेपालीहरुबीचको सम्पर्क सञ्जाल विस्तार गर्न अनुरोध गर्नु भएको छ।

चीनको शुन्य कोभिड नीतिका कारण सिछुवानका अधिकांश ठाउँमा झण्डै एक महिनासम्म लकडाउन गरिएको थियो। दशैँको केही दिनअगाडि मात्रै लकडाउन खुलेको थियो।

यसैगरी बेइजिङस्थित नेपाली दूताबासमा पनि भव्य रुपमा दशैँ मनाइएको छ। नेपालीहरुको बाक्लो बसोबास रहेको चच्याङ प्रान्तको यिऊ र क्वाङतोङ प्रान्तको क्वाङचौमा पनि विविध कार्यक्रम आयोजना गरेर दशैँ मनाइएको छ।