पाँच अर्बमा मलेखु–मुग्लिन सडक स्तरोन्नति गर्न ठेक्का
2022-10-09 16:38:21cri
Share with:

पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिन खण्डको (३९ किलोमिटर) सडक स्तरोन्नति गर्न करिव ५ अर्ब रूपैयाँमा ठेक्का लागेको छ। नागढुंगा-नौबिसे–मलेखु–मुग्लिन सडक विस्तार अन्तर्गतको यो खण्डको स्तरोन्नति गर्न शर्मा-जेडआईसी संयुक्त उपक्रम(जेभी) ले ठेक्का पारेको हो। यो सडक खण्डको प्राविधिक मूल्यांकनमा ३५ वटा कम्पनी छनोट भएका मध्ये ९ वटा कम्पनी मात्रै आर्थिक मूल्यांकनमा सहभागिता जनाएका नागरिक अनलाइनले लेखेको छ।

९ वटा कम्पनीमध्ये सबैभन्दा कम कबोल गर्ने शर्मा-जेड आईसी जेभीले ४ अर्ब ८० करोड ५९ लाख रूपैयाँमा ठेक्का हात पारेको हो। क्षेत्रिय व्यापरिक मार्ग विस्तार आयोजनाका प्रोजेक्ट कोर्डिनेटर त्रिलोकनाथ घिमिरेले मलेखु-मुग्लिन सडक खण्डको स्तरोन्नति गर्न शर्मा एण्ड शर्मा-जेडआईसी जेभी छनोट भएको बताउनुभयो।

‘मलेखु–मुग्लिन सडक खण्डको सबैभन्दा कम कबोल गर्ने कम्पनीलाई ठेक्का सम्झौता गर्नका लागि आशयपत्र जारी गरेका छौं,’ उहाँले भन्नुभयो ‘छनोट भएको कम्पनी विरुद्धमा कुनै पनि खालको उजुरी नआएको खण्डमा दशैं लगतै ठेक्का सम्झौता गरिनेछ।’

कोर्डिनेटर घिमिरेले ठेकेदार कम्पनीले ३ वर्ष भित्रै मलेखु-मुग्लिनसम्मको सडक स्तरोन्नतिको काम सम्पन्न गर्नुपर्ने समयसीमा तोकिएको बताए।‘ठेकेदार कम्पनीले तीन वर्षभित्रै दुई लेनसहितको सडक चौडा गर्ने जिम्मेवारी पाएको छ,’ उहाँले भन्नुभयो ‘ छनोट भएको कम्पनीले सो सडक खण्ड ५ वर्षसम्म नियमित मर्मतसम्भार पनि गर्नुपर्नेछ।’ यो सडक खण्ड बजार क्षेत्रमा ६ लेनका सडक स्तरोन्नति गरिनेछ। त्यसैगरी अन्यन्तै साँघुरो भएको खण्डमा भने दुई लेनको विस्तार गरिनेछ।’

यो सडक खण्ड विस्तार गर्नका लागि साढे ६ अर्ब रूपैयाँ अनुमानित गरिएकोमा ठेकेदार कम्पनीले ४ अर्ब ८० करोड लागतमा ठेक्का हात पारेको हो। संघीय सरकारले नागढुंगा–नौबिसे–मुलेखु–मुग्लिन सडक खण्डलाई तीन खण्डमा विभाजन गरेर सडक स्तरोन्नति गर्न लागेको हो।

नागढुंगा-नौबिसे–मुग्लिन खण्डमा ९६ किलोमिटर सडक पर्छ। पहिलो खण्ड नागढुंगा–नौबिसे १२.२६ किलोमिटर र दोस्रो खण्ड नौबिसे–मलेखु ४३.५४२ किलोमिटरको स्तरोन्नति प्रक्रिया अघि बढीसकेको छ। कोर्डिनेटर घिमिरेले तीनै खण्डमध्ये दुई खण्डको ठेकेदार कम्पनी छनोट भएर साइट क्लिरेक्स लगायतको काम अघि बढीसकेको बताउनुभयो। ‘नागढुंगा–नौबिसे खण्ड र नौबिसे-मलेखु खण्डको यस अघि नै ठेक्का सम्झौता भएर निर्माण कम्पनीले प्रारम्भिक काम गर्दै आइरहेका छन्,’ उहाँले भन्नुभयो ‘पछिल्लो समय तेस्रो खण्डको पनि ठेक्का सम्झौताको क्रममा रहेको छ।’

सडक विभाग मातहतको विकास सहायता कार्यान्वयन महाशाखाले नागढुंगा–नौबिसे र नौबिसे–मलेखु खण्डको सडक ६ अर्ब ६४ करोड रूपैयाँ लागतमा स्तरोन्नति गर्न लागेको हो। महाशाखाका अनुसार नागढुंगा–नौबिसे खण्डको ठेक्का जियाङ्सुरसगुन जेभीले १ अर्ब ३१ करोड ८४ लाख लागतमा पाएको हो। पहिलो खण्डमा १८ वटा कम्पनीले आर्थिक प्रस्ताव पेस गरेका थिए। तीमध्ये सबैभन्दा कम कबोल गर्ने जियाङ्सु-सगुन जेभीले ठेक्का पाएको हो। दोस्रो खण्ड नौबिसे–मलेखु खण्डको ठेक्का शर्मा/लामा/जिआइसिजी जेभीले पाएको छ। उसले ५ अर्ब ३३ करोड १९ लाख रूपैयाँमा उक्त खण्ड विस्तार गर्ने छनोट भएको छ।

दोस्रो खण्डमा पनि १२ वटा ठेकेदार कम्पनीले आर्थिक प्रस्ताव पेस गरेका थिए। तीमध्ये सबैभन्दा कम कबोल गर्ने छानिएको हो। नागढुंगा–मुग्लिन सडक योजना प्रमुख किरण कार्कीले नागढुंगा–नौबिसे खण्ड दुई वर्षभित्रै र नौबिसे–मलेखु खण्ड तीन वर्षभित्र निर्माण सक्ने लक्ष्यसहित ठेक्का सम्झौता भएको बताउनुभयो। ‘अहिले ठेकेदार कम्पनीले साइटमा निर्माण सामग्री संकलन तथा साइट क्लिरेक्स लगायतको काम गर्दै आइरहेका छन,’ उहाँले भन्नुभयो‘ अहिले सडकको दायाँबायाँको किरानामा पर्खाल लगाउने, ढल लगायतको संरचना निर्माण गर्ने काम गरिरहेका छन्।’

योजना प्रमुख कार्कीले पहिलो खण्डको १२.२६ किलोमिटरमध्ये साढे ५ किलोमिटर ३ लेनको सडक विस्तार गरिने बताउनुभयो। ‘बाँकी अप्ठेरो भूगोलमा २ लेनमा विस्तार गरिनेछ। अहिलेको भन्दा त विस्तार गरिसकेपछि धेरै राम्रो हुनेछ।’

नौबिसे–मलेखु खण्डको बजार क्षेत्रमा डेडिकेटेड ४ लेन र सर्भिस थप २ गरेर ६ लेनको पनि हुनेछ। खानीखोला, महादेव बेसी, धार्के बजार, गजुरी लगायत ६ लेनको हुनेछ। अरू ठाउँमा कतै ३ लेन हुनेछ। अप्ठेरो भूभागमा २ लेनको मात्रै हुनेछ। नागढुंगा–मुग्लिन खण्डमा २६ वटा र नागढुंगा–नौबिसे खण्डमा दुइटा मात्रै पुल निर्माण गर्नुपर्नेछ। त्यो खण्डमा खत्रीपौवा र नौबिसे बजारमा मात्रै पुल बनाउनुपर्छ। यो परियोजना विश्व बैंकको १९ अर्ब ऋण सहयोगमा निर्माण हुन लागेको हो।

योजनाले राजमार्गमा सवारी दुर्घटना न्यूनीकरणको लागि नागढुंगा-मुग्लिन सडक खण्डको बजार क्षेत्रमा आकाशेपुल, ब्रेकर सुधार लगायत काम गर्ने जनाएको छ। बजार क्षेत्रमा करिब १९ वटा आकाशेपुल निर्माण गर्ने योजना छ।

‘यो सडक स्तरोन्नतिसँगै राजमार्गको मोडहरू सुधार गरिनेछ। एउटा पुल भएको ठाउँमा अर्को पुल थपिनेछ,’ उहाँले भन्नुभयो, ‘सडक चौडा भएसँगै आवातजावत सहज हुने अपेक्षा गरेका छौं।’ योजनाले यो सडक बनेसँगै सवारी दुर्घटना पनि न्यूनीकरण हुने जनाएको छ। व्यापारिक मालसामान बोकेका सवारी साधनलाई उच्च प्रथामिकतामा राखेर हिँड्ने लेनको विकास गरिनेछ।