बनिसकेको एउटा विमानस्थलबाट विमान उडाउन बाँकी
2022-10-10 16:52:55CRI
Share with:

गुल्मीको रेसुङ्गा नगरपालिका९ का स्थानीयहरूको गुल्मीबाटै जहाजमा उड्ने सपना अझै पूरा हुन सकेको छैन। विमानस्थल निर्माण सम्पन्न भएपछि सरोकारवालाले ध्यान नदिएको स्थानीयवासीको आरोप छ। विसं २०६३ मा तत्कालीन पर्यटनमन्त्री प्रदीपकुमार ज्ञवालीबाट रेसुङ्गा विमानस्थल शिलान्यास भएको थियो। जग्गा अधिग्रहण र बजेट अभावका कारण सुरुको सात/आठ वर्ष विमानस्थल निर्माणले गति लिन सकेन । शिलान्यासको नौ वर्षपछि २०७२ बाट विमानस्थलको नियमित काम सुरु भयो।

 

विमानस्थलमा २५ जेठ २०७५ मा तारा एयरको विमानले परीक्षण उडान भरेको थियो। अर्को वर्ष विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसले केही असर गर्‍यो। विसं २०७९ वैशाखमा मात्र विमानस्थल निर्माणले पूर्णरुप पायो।

रेसुङ्गा विमानस्थल निर्माण आयोजनाका सहायक आयोजना प्रमुख इञ्जिनीयर दिनेश परियारका अनुसार जग्गा अधिग्रहण, बजेट अभाव, कोरोना महामारी र निर्माण पहलकर्ताको कम चासोले विमानस्थल निर्माणमा ढिला भएको हो। विमानस्थल निर्माणको क्रममा मुआब्जा दिने गरी १४ घर विस्थापित गराइएको थियो । बाँकी २८ घरको जग्गा अधिग्रहण गरिएको थियो। विस्थापितले मुआब्जा पाइसकेका छन् ।

 

निर्माण सम्पन्न विमानस्थलको धावनमार्ग पाँच सय २० मिटर लम्बाइ र २० मिटर चौडाइको छ । कुल ३५ करोड रुपैयाँ लागतमा रेसुङ्गा विमानस्थल निर्माण सम्पन्न भएको आयोजनाका सहायक आयोजना प्रमुख इञ्जिनियर परियारले बताउनुभयो। एक सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको विमानस्थलको ७९ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । अहिले विमानस्थल नियमित उडानका लागि तयार छ । प्राविधिक जडानपछि नियमित उडान भर्न सकिने इञ्जिनीयर परियारको भनाइ छ।

 

रेसुङ्गा विमानस्थलको संरचना पूर्णरुपमा निर्माण भएपछि रेखदेख गर्ने कोही पनि छैनन्। नियमित उडान शुभारम्भ नहुनु र रेखदेख गर्ने नहुनुले विमानस्थलका संरचनामा क्षति पुग्न थालिसकेको छ । विमानस्थल चिटिक्क बनेकाले घुम्ने जानेको लापरबाहीका कारणले कन्ट्रोल टावरको सिसा फुटिसकेको छ भने अन्य संरचनामा पनि क्षति भएको छ । रेसुङ्गा नगरपालिकाले विमानस्थलको रेखदेखका लागि नगरप्रहरी खटाउने तयारी गरेको छ । गुल्मीको सदरमुकाम तम्घास नजिकै रहेको रेसुङ्गा विमानस्थलबाट नियमित उडान भएमा आम गुल्मेलीलाई राहत महशुस हुनेछ । छिमेकी जिल्ला अर्घाखाँची, प्यूठान र बाग्लुङलाई पनि रेसुङ्गा विमानस्थलले टेवा पुर्‍याउने विश्वास गरिएको कान्तिपुर अनलाइनमा खबर छ।