सवारीमा युरो–६ लागू गर्ने सोचमा नेपाल सरकार
2022-10-12 15:47:32CRI
Share with:

मुलुकमा आयात हुने सवारीसाधनमा युरो६ (बीएस६) मापदण्ड लागू गर्ने प्रस्ताव वन तथा वातावरण मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गरेको छ। सहरी क्षेत्रको वायु प्रदूषणमा सवारीसाधनहरूबाट उत्सर्जन हुने प्रदूषणको मुख्य योगदान रहेको र त्यो दिन प्रतिदिन बढ्दै गएकाले अब आयात हुने सवारीमा युरो६ लागू गर्ने प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषद् पठाइएको वन तथा वातावरणमन्त्री प्रदीप यादवले जनाउनुभयो।

 

छिमेकी मुलुक भारत र भुटानमा समेत सवारीसाधनमा युरो६ मापदण्ड लागू भइसकेकाले त्यही मापदण्ड नेपालमा पनि कायम गराउन खोजिएको हो। मन्त्रिपरिषद्मा पेस गरिएको प्रस्तावमा विश्वका धेरैजसो मुलुकले अवलम्बन गर्दै आएको र छिमेकी मुलुकमा समेत युरो६ समानस्तरको मापदण्ड लागू गरी कार्यान्वयनमा ल्याइएको सन्दर्भमा नेपालमा पनि हाल कार्यान्वयनमा रहेको नेपाल सवारी प्रदूषण मापदण्ड०६९ को सट्टा समयसापेक्ष र स्तरीय हुने गरी सवारी प्रदूषण मापदण्ड०७९ लागू गर्न खोजिएको उल्लेख छ

प्रस्ताव पठाउनुअघि वन मन्त्रालयले अर्थ मन्त्रालय तथा भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयसँग समेत राय लिएको थियो। यातायात मन्त्रालय मातहतको यातायात व्यवस्था विभागले युरो६ लागू गर्दा अघिल्लो मापदण्डको तुलनामा वायु प्रदूषण नियन्त्रण एवं हरितगृह प्रभाव न्यूनीकरणका दृष्टिबाट प्रगतिशील हुने र उक्त मापदण्ड कार्यान्वयन गराउन यातायात कार्यालयहरूलाई कुनै प्रभाव नपर्ने राय दिएको छ। अर्थ मन्त्रालयले भने नयाँ मापदण्ड लागू भए पनि प्रतीतपत्र (एलसी) खोलिसकिएका हकमा पुरानै मापदण्डअनुसारका सवारी ल्याउन छुट हुनुपर्ने सुझाव दिएको छ। मन्त्री यादवले असार २० मा मन्त्रालय सम्हालेलगत्तैदेखि मुलुकमा भित्रिने सवारीसाधनमा युरो६ मापदण्ड प्रक्रिया अघि बढाएको कान्तिपुर अनलाइनले लेखेको छ।

अहिले मुलुकमा युरो३ मापदण्डका इन्जिन भएका सवारीसाधन सञ्चालनमा छन्। र, त्यही मापदण्डका सवारीसाधन भित्रिन्छन्। तर पेट्रोलियम पदार्थ भने युरो६ मापदण्डको छ। काठमाडौंलगायत देशका विभिन्न भागमा वायु प्रदूषण बढ्नुमा सवारीसाधनको समेत धेरै भूमिका हुने भएकाले युरो६ मापदण्डमा जाँदा प्रदूषण घट्न सघाउने विशेषज्ञहरूको राय छ। सरकारले ०७७ सालमै सवारीसाधनमा युरो६ मापदण्ड लागू गर्न खोजेको थियो। त्यतिखेर कोभिडका कारण प्रक्रिया अघि बढ्न सकेको थिएन। सरकारले ०६९ मा सवारी प्रदूषण मापदण्ड लागू गरेर त्यसको दुई वर्षमै युरो४ मा जाने उल्लेख गरेको थियो। तर त्यो निर्णय कार्यान्वयन भएन। ०७७ मा वन मन्त्रालयले पुनः नयाँ मापदण्ड अर्थात् युरो६ मा जाने गरी प्रस्ताव तयार पारे पनि विविधि कारण देखाएर अघि बढाइएको थिएन

 

भारतमा हाल बीएस ६ (युरो६ सरह) का मात्र सवारी उत्पादन तथा दर्ता गर्न पाइने व्यवस्था छ। भारतले सन् २०२० देखि नै युरो६ मापदण्ड कार्यान्वयनमा ल्याइसकेको छ। उसले नेपाल निर्यात गर्ने प्रयोजनका लागि मात्र युरो३ मापदण्डका सवारीसाधन उत्पादन गर्छ। काठमाडौं उपत्यकामा वायु प्रदूषणको कारकमा सवारीसाधनको भूमिका ३० प्रतिशत रहेको वातावरण विभागको ०७० को अध्ययनले देखाएको थियो। पेट्रोलियम पदार्थबाट चल्ने सवारीबाट कार्बनमोनोअक्साइडजस्ता हानिकारक धूवाँ निस्कन्छ। युरो३ भन्दा युरो४ तथा त्यसभन्दा पनि युरो६ का सवारीले प्रदूषण कम गर्ने गरेको विज्ञहरू बताउँछन्

 

युरो६ मापदण्डका सवारीसाधनले प्रदूषण कम गर्ने र छिमेकीसहित विकसित मुलुकहरू पहिल्यै युरो६ मा गएकाले नेपालले पनि त्यसलाई लागू गर्ने उपयुक्त समय आएको वातावरण विभागका महानिर्देशक घिमिरेले बताउनुभयो।