नेपालको बिजुली निर्यात भएर आम्दानी हुने क्रम निरन्तर
2022-10-12 15:49:12CRI
Share with:

यो वर्षायामको ४ महिनामा भारतर्फको विद्युत् निर्यात १ अर्ब युनिट नाघेको छ । नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी बढी भएको वर्षायामको विद्युत् गत जेठ १९ बाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स)को डेअहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो। त्यसयता अर्थात असोज २५ सम्म १ अर्ब ३० लाख युनिट विद्युत् निर्यात भएको हो।

 

देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारततर्फ निर्यात गरी यस अवधिमा ७ अर्ब ९३ करोड २२ लाख रुपैयाँ खुद आम्दानी भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो। विद्युत् निर्यात एक अर्ब युनिट नाघ्नु हाम्रो लागि अर्को कोशेढुंगा हो, उहाँले भन्नुभयो। निर्यात गरिएको विद्युत्‌को प्रतियुनिट औसत मूल्य ७ रुपैयाँ ९१ पैसा छ ।

 

सुरुमा दुईवटा विद्युत्‌गृहको ३९ मेगावाट विद्युत्‌लाई स्रोत मानी दैनिक रुपमा आईएक्समा बिक्री गरिएको थियो । त्यसपछि २७ जेठबाट ६ वटा जलविद्युत् गृहमार्फत् उत्पादित विद्युत्‌लाई स्रोत मानी दैनिक रुपमा ३६४ मेगावाट बिजुली भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ ।

भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँमा हुने भएकोले यस अवधिमा विद्युत् बिक्रीबाट ४ अर्ब ९५ करोड ७६ लाख भारु नेपाल भित्रिएको छ । यसबाट नेपालको विदेशी मुद्रा सञ्चिति र पसी व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको छ। प्राधिकरणले चालु आर्थिक वर्षमा विद्युत् निर्यातबाट करिब १६ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ। आईएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युत्‌को कारोबार गरिन्छ। कान्तिपुर।