गृहमन्त्री खाणसँग चिनियाँ राजदूत यान्छीको शिष्टाचार भेट
2022-10-14 15:54:56CRI
Share with:

गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बिहीबार गृह मन्त्रालयमा शिष्टाचार बिदाइ भेट गर्नुभएको छ। भेटमा नेपालचीनबीचको आपसी सम्बन्ध, आपसी सहयोग आदान प्रदानलगायत विषयमा कुराकानी भएको छ। गृहमन्त्री खाणले भेटमा नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा प्रतिबद्ध रहेको बताउनुभयो ।  ‘‘नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा प्रतिबद्ध छ,’’ गृहमन्त्री खाणले भन्नुभयो, ‘‘नेपाल सरकार, नेपाली जनता एक चीन नीतिप्रति विश्वस्त छौँ । छिमेकी मुलुकको सुरक्षा संवेदनशीलतामा सरकार संवेदनशील छ।’’

 

उहाँले नेपालमा कुनै पनि मुलुकविरुद्ध कुनै अवाञ्छनीय गतिविधि हुन नदिने बताउनुभयो। त्यस्तै, गृहमन्त्री खाणले राजदूत यान्छीको कार्यकालमा भएको चिनियाँ राष्ट्रपति सी चिनफिङ, चिनियाँ राष्ट्रिय जनकङ्ग्रेसका अध्यक्ष ली चान्सुलगाययत उच्च पदस्थ अधिकारीको नेपाल भ्रमणले नेपाल चीन सम्बन्धलाई अझै सुदृढ बनाएको बताउनुभएको गोरखापत्र अनलाइनले लेखेको छ

 

नेपालचीन बीचमा कूटनीतिक सम्बन्धका साथसाथै सामाजिक र सांस्कृतिक सम्बन्ध पनि रहेको बताउँदै खाणले नेपालको भौतिक विकास, प्राकृतिक विपद् र महामारीको बेलामा पुर्‍याएको सहयोगका लागि चिनियाँ सरकार र चिनियाँ जनतालाई राजदूत यान्छीमार्फत धन्यवाद दिनुभयो।

 

राजदूत यान्छीले चार वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरेर नयाँ महत्त्वपूर्ण जिम्मेवारीका लागि जान लागेकोमा शुभकामना व्यक्त गर्नुभयो । स्वदेश फर्किएपछि पनि यान्छीले नेपाल चीन सम्बन्ध प्रगाढ बनाउन र नेपालको विकास र समृद्धि, सद्भाव र सहयोग, पर्यटनको विकासमा चिनियाँ नागरिकहरूलाई नेपाल भ्रमणमा प्रेरित गर्न निरन्तर भूमिका खेलिरहने विश्वास गृहमन्त्री खाणले व्यक्त गर्नुभयो ।

 

राजदूत यान्छीले नेपालको विकास र प्रगतिका लागि चीनले सदैव सद्भाव र सहयोगका साथसाथै शुभकामना व्यक्त गरिरहेको बताउनुभयो । पर्यटन विकासका लागि नेपाल भ्रमण आउने वातावरण चिनियाँ सरकारले मिलाउने र आफूले व्यक्तिगत रूपमा नेपालको भौगोलिक, सामाजिक र सांस्कृतिक विविधता तथा नेपालीको पर्यटक र पाहुनाप्रतिको सद्भावबारे आफ्ना चिनियाँ साथी र जनतासम्म विचार राख्ने यान्छीले बताउनुभयो ।

 

खाण गृहमन्त्री भएपछि चीननेपाल सम्बन्ध सुदृढ बनाउन खेलेको भूमिकाको सराहना गर्दै राजदूत यान्छीले चीनको सुरक्षा संवेदनशीलतालाई गम्भीररूपमा लिएकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

 

मङ्सिर चार गते निर्धारित प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न गर्न नेपाल सरकार र गृहमन्त्रीलाई सफलता मिलोस् भन्ने शुभकामना चीन सरकारका तर्फबाट राजदूत यान्छीले दिनुभयो । आफू जुनसुकै जिम्मेवारीमा जहाँ रहे पनि नेपालबाट प्राप्त सम्मान र सद्भावलाई सदैव सम्झिरहने यान्छीले बताउनुभयो ।

गृहमन्त्री खाणले नेपालमा संवैधानिक व्यवस्था अनुसार ५/५ वर्षमा स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन हुने जानकारी गराउँदै स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गरेको तथा मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन निष्पक्ष, भयरहित र स्वतन्त्रतापूर्वक सम्पन्न गर्ने तयारी सरकारले गरिरहेको बताउनुभयो।