नेपालमा चालू आर्थिक वर्षमा मूल्य वृद्धि ८.१ प्रतिशत हुने
2022-10-15 16:12:37CRI
Share with:

विश्व बैंकले रुसयुक्रेन युद्ध र आन्तरिक कारणले नेपालमा चालू आर्थिक वर्षमा मुद्रास्फीति ६.३ प्रतिशत पुग्ने अनुमान गरेको केही दिनमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले मूल्य वृद्धि ८.१ प्रतिशत हुने जनाएको छ । साथै, आगामी आर्थिक वर्ष

मुद्रास्फीति दर घटेर ७.१ प्रतिशतमा सीमित हुने पनि जनाएको छ।

 

सरकारले भने चालू आर्थिक वर्षको बजेटमा मूल्यवृद्धि ७ प्रतिशतभन्दा तल राख्ने जनाएको थियो, जुन रुस तथा युक्रेनको युद्धका कारण भएको आपूर्ति चक्रको समस्या तथा आन्तरिक बजारका कारण सम्भव देखिँदैन । आईएमएफले सार्वजनिक गरेको वल्र्ड इकोनोमिक आउटलुकका अनुसार सन् २०२२ मा विश्वमा महँगीसमेत ४.७ प्रतिशतबाट वृद्धि भएर ८.८ प्रतिशतसम्म पुग्ने आईएमएफको प्रक्षेपण छ । विश्व अर्थतन्त्रमा बृहत् र अपेक्षा गरिएभन्दा धेरै मन्दी देखिएको र मूल्य वृद्धि समेत केही दशकयताकै उच्च भएको आईएमएफले उल्लेख गरेको छ । आईएमएफले आगामी केही वर्ष मूल्यवृद्धि र अनिश्चितता रहने उल्लेख गर्दै मौद्रिक नीतिले मूल्यमा स्थिरता कायम राख्ने प्रयास गर्नुपर्ने र आर्थिक नीतिले जीवन यापनको लागत घटाउने गरी लक्षित हुनुपर्ने जनाएको छ । यद्यपि यी नीतिहरुमा धेरै लचिलो हुन नहुने समेत औंल्याएको कारोबार अनलाइनले लेखेको छ।

 

यसका साथै, चालू आर्थिक वर्षमा आर्थिक वृद्धि (जीडीपी) ४.२ प्रतिशतले वृद्धि हुने पनि आईएमएफले प्रक्षेपण गरेको छ । यता विश्व बैंकले भने चालू आर्थिक वर्षमा अर्थिक वृद्धि ५.१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको थियो भने त्यसअघि एसियाली विकास बैंकले नेपालको आर्थिक वृद्धि ४.७ प्रतिशतले हुने प्रक्षेपण सार्वजनिक गरेको थियो । सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ।

आईएमएफले सार्वजनिक गरेको वल्र्ड इकोनोमिक आउटलुकका अनुसार आगामी आर्थिक वर्ष नेपालको अर्थतन्त्र ५ प्रतिशत र त्यसपछि अर्को आर्थिक वर्षमा ५.३ प्रतिशत आर्थिक वृद्धि हुने पनि आईएमएफको प्रक्षेपण छ। विश्व बैंकले अर्थतन्त्र विस्तार हुने बताउँदै गर्दा अन्तर्राष्ट्रिय मुद्रा कोषले भने विश्वव्यापी मन्दीको जोखिम बढ्दै गएको जनाएको छ।

 

आईएमएफकी प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिभाले युक्रेनमा रुसको आक्रमण र कोभिड महामारीका कारण उत्पन्न परिस्थितिका कारण अर्थतन्त्रको अवस्था राम्रो नभएको बताउनुभयो। उहाँले मुद्रास्फीतिजस्ता महत्वपूर्ण समस्यालाई सम्बोधन गर्न पहल गर्नुपर्ने पनि बताउनुभयो।

 

यस्तै, आईएमएफका अनुसार चालू खाता भने अर्थतन्त्रको आकारको आधारमा १२.१ प्रतिशतले घाटामा रहने छ । गत आर्थिक वर्षमा नेपालको चालू खाता ६ खर्ब २३ अर्बले घाटामा थियो । नेपालको वस्तु निर्यातको स्थिति नसुधारिएको तथा रेमिट्यान्सबाट प्राप्त गर्ने आय पनि उल्लेख्य रुपमा बढ्न नसकेका कारण नेपालमा भित्रिने रकमभन्दा बाहिरिने रकम बढी छ ।

 

यसका साथै आईएमफले चालू आर्थिक वर्षमा विश्व अर्थतन्त्रको वृद्धि समेत ३.२ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । गत आर्थिक वर्षमा विश्वको अर्थतन्त्र ६ प्रतिशतले विस्तार भएको थियो ।