नेपालमा विदेशी लगानी गर्न न्यूनतम सीमा दुई करोड रुपैयाँसम्म हुने
2022-10-16 15:48:15CRI
Share with:

सरकारले विदेशी लगानीको न्यूनतम सीमा प्रतिविदेशी लगानीकर्ता दुई करोड रुपैयाँ तोक्ने निर्णय गरेको छ । सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ३ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी विदेशी लगानीको न्यूनतम सीमा दुई करोड रुपैयाँ तोक्ने निर्णय गरेको हो। तर, नेपालमा प्रतिबद्धताअनुसार वैदेशिक लगानी आउन भने सकेको छैन । प्रतिबद्धताको एक तिहाइ लगानीमात्र आउने गरेको तथ्यांकमा देखिन्छ । सन् २०२१ सम्मको तथ्यांकका अनुसार ३ खर्ब ५७ अर्ब प्रतिबद्धतामा १ खर्ब ३० अर्ब मात्रै लगानी आएको छ ।

 

उद्योग विभागका अनुसार गत भदौसम्ममा नेपालमा ५५ देशको प्रत्यक्ष वैदेशिक लगानी छ । जसमध्ये भारतबाट सबैभन्दा बढी ७९ अर्ब १४ करोड, चीनबाट ७५ अर्ब ७७ करोड रहेको छ । यस्तै सिंगापुरबाट १७ अर्ब ४३ करोड, आयरल्याण्डबाट १६ अर्ब ४८ करोड र सेन्ट किट्स एण्ड नेभिसबाट १४ अर्ब ५१ करोड प्रत्यक्ष वैदेशिक लगानी रहेको देखिन्छ।

नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमध्ये ६०.५ प्रतिशत औद्योगिक क्षेत्रमा र ३९.४ प्रतिशत सेवा क्षेत्रमा छ । औद्योगिक क्षेत्रअन्तर्गत जलविद्युत क्षेत्रमा ३०.८ प्रतिशत र उत्पादन क्षेत्रमा २९.५ प्रतिशत वैदेशिक लगानी रहेको देखिन्छ । यसैगरी कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २६.९ प्रतिशत सेवा क्षेत्रअन्तर्गत बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूमा छ।

 

कारोबार अनलाइनका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा वैदेशिक लगानीमा सञ्चालित उत्पादनमूलक कम्पनीको क्षमता उपयोग ६४.९ प्रतिशत छ भने नाफाको दर करिब १४.७ प्रतिशत छ । तर, प्रत्येक वर्ष प्रतिबद्धता बढे पनि वास्तविक लगानी भने निकै कममात्रै आएको देखिन्छ।