अर्को एउटा विद्युत परियोजनाबाट व्यापारिक उत्पादन हुँदै
2022-10-16 15:50:34CRI
Share with:

लमजुङको दोर्दी खोलामा निर्माण सम्पन्न भएको २५ मेगावाटको माथिल्लो दोर्दी जलविद्युत् आयोजनाले कात्तिकदेखि व्यापारिक उत्पादन थाल्ने भएको छ । दोर्दी गाउँपालिका, ढोडेनी भएर बग्ने दोर्दी खोलामा लिबर्टी इनर्जी कम्पनी लिमिटेडले निर्माण गरेको यो आयोजनाबाट परीक्षण उत्पादन सुरु भइसकेको छ र उत्पादित बिजुली केन्द्रीय प्रणालीमा थपिएको छ । आयोजनाका प्रवद्र्धक कम्पनीका सञ्चालक राजेन्द्र वस्तीका अनुसार आयोजनाले निर्माण पूरा गरी शुक्रबारदेखि परीक्षण उत्पादन सुरु गरेको हो ।

 

भूकम्प, नाकाबन्दी, बाढीपहिरो र कोरोना महामारीलगायतका समस्या सामना गर्दै विद्युत् उत्पादन गर्न सफल भएको वस्तीले बताउनुभयो । उहाँले भन्नुभयो, “१५ दिन परीक्षण गर्छौं । परीक्षण सफल भएपछि कात्तिकदेखि व्यापारिक उत्पादन थाल्छौँ।

 

२०७६ साल चैतदेखि नै विद्युत् उत्पादन गर्ने तालिका रहे पनि विभिन्न समस्याले ढिलाइ भएको वस्तीले बताउनुभयो । आयोजनाको पेनस्टक पाइप, टनेलमा बाढीले क्षति गरेपछि तोकिएको समयमा काम सम्पन्न गर्न र विद्युत् उत्पादन गर्न ढिलाइ भएको उहाँले जानकारी दिनुभयो ।

आयोजना पूरा गर्न सुरुमा चार अर्ब ६४ करोड ६१ लाख रुपियाँ लागत अनुमान गरिएको थियो । आयोजना सम्पन्न हुँदा करिब पाँच अर्ब रुपियाँ लगानी पुगेको जनाएको छ।

 

आयोजनाको बाँधस्थल लोदो खोलाबाट दुई हजार सात सय मिटर लामो भूमिगत सुरुङबाट दोर्दी खोलाको पानीलाई विद्युत् गृहमा झारिएको छ । आयोजनामा १२ दशमलव पाँच मेगावाटका दुईवटा पेलटन टर्वाइन जडान गरिएको छ ।

नेपाल विद्यत् प्राधिकरणले यो आयोजनाको विद्युत् गृह नजिकै दोर्दी गाउँपालिका, कीर्तिपुरबेँसीमा १३२ केभी सबस्टेसनमा निर्माण गरेको छ ।

 

२०७१ फागुनदेखि निर्माण सुरु गरिएको आयोजनामा नेपाल इन्भेस्टमेन्ट बैङ्कको नेतृत्वमा नौवटा बैङ्कले लगानी गरेका छन् । आयोजनामा बैङ्कको ७० प्रतिशत ऋण र ३० प्रतिशत प्रवद्र्धकको स्वपुँजी लगानी छ । रन अफ रिभर (नदीको बहावमा आधारित) यो आयोजनाको प्रभावित क्षेत्र (ढोडेनी, फलेनी)को विकासका लागि छ करोड रुपियाँ विनियोजन गरेको थियो ।

 

आयोजनाको बिजुली हिउँदको समयमा आठ रुपियाँ ४० पैसा र वर्षायाममा पाँच रुपियाँ ८० पैसा हुने गरी प्रवद्र्धक कम्पनी लिवर्टी र विद्युत् प्राधिकरणबीच विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) भएको छ ।