अर्घाखाँची सिमेन्ट निर्यात सुरु
2022-10-18 15:27:38cri
Share with:

अर्घाखाँची सिमेन्टले सोमबारदेखि सिमेन्ट भारत निर्यात गर्न थालेको छ।  रुपन्देहीमा रहेको यो उद्योगले बेलहिया नाका हुँदै भारतको आनन्दनगर र नौतनवामा रहेको शुभांशु एसोसिएट डिलरलाई एक सय टन (एक हजार चार सय बोरा) पीपीसी सिमेन्ट पठाएको सो उद्योगका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवालले जानकारी दिनुभयो।

अर्घाखाँचीका उत्पादन ओपीसी र पीपीसी सिमेन्टले भारतीय गुणस्तर चिह्न पाइसकेका छन्। यो उद्योगले असोज पहिलो साता आईएसआई मार्क पाएको गोरखापत्र अनलाइनले लेखेको छ।

उद्योगका सञ्चालक पशुपति मुरारकाले सिमेन्ट निर्यात हुँदा खुसी लागेको बताउँदै यसले मुलुकको अर्थतन्त्रमा टेवा विश्वास व्यक्त गर्नुभयो।

अर्घाखाँची सिमेन्ट उद्योगको दैनिक दुई हजार दुई सय टन उत्पादन क्षमता छ। यसले क्लिङ्करसमेत उत्पादन गर्दै आएको छ। क्लिङ्कर पनि निर्यात गर्न सक्ने आफूहरूको क्षमता रहेको उद्योगका प्रबन्ध निर्देशक अग्रवालले बताउनुभयो।

भारतको उत्तरप्रदेश, बिहार र पश्चिम बङ्गालमा नेपाली सिमेन्टको माग रहेको उहाँले बताउनुभयो। “नेपालबाट करिब पाँच सय किलोमिटरसम्मको भारतीय बजारमा सिमेन्ट निर्यात गर्न सक्यौँ भने पनि ठूलो फाइदा हुनसक्छ,” अर्घाखाँची सिमेन्टको गुणस्तर राम्रो र लागतमा पनि प्रतिस्पर्धी रहेको चर्चा गर्दै मुरारकाले बताउनुभयो।

सरकारले ५० करोड रुपियाँभन्दा बढीको उत्पादन निर्यात गर्ने उद्योगलाई ८ प्रतिशत अनुदान दिने घोषणा गरेको छ। यसले आफ्ना उत्पादन निर्यात गर्न प्रोत्साहन भएको छ। यसअघि तानसेन सिमेन्ट र श्री स्टिल्स्ले आफ्नो उत्पादन भारत निर्यात सुरु गरेका थिए।