घोरेपानीमा खचाखच पर्यटक
2022-10-19 15:24:12cri
Share with:

अनुकूल मौसमसँगै अन्नपूर्ण पदमार्गको उत्कृष्ट गन्तव्य पुनहिल, घोरेपानीका होटल/गेस्ट हाउस पर्यटकले खचाखच छन् । अहिले प्रतिदिन ३ सयभन्दा बढी विदेशी पर्यटक घोरेपानी भित्रिएका छन् ।

‘दसैंसँगै प्रतिदिन ३ सय ५० जनासम्म विदेशी पर्यटक घोरेपानी भित्रिएको हाम्रो अभिलेख छ । धेरैजसो पर्यटक घान्द्रुक एवं अन्नपूर्ण बेसक्याम्प (एबीसी) बाट फर्कने वा पोखराबाट घोरेपानी आएर घान्द्रुक वा एबीसीतिर जाने रहेको प्रहरी सहायक निरीक्षक सन्तोष भुसालले बताउनु भएको अन्नपूर्ण पोष्ट अनलाइनले लेखेको छ । ‘आन्तरिक पर्यटक पनि मोटरसाइकल र साना गाडीमा धेरै नै आउने गरेका छन्,’ उहाँले भन्नुभयो ।

घोरेपानीमा सानाठूला गरी ३० होटलमा ४ सय बेड क्षमता छ । ३ हजार २ सय १० मिटर उचाइमा अवस्थित पुनहिल डाँडो धौलागिरि र अन्नपूर्ण हिमालको घेरो अनि सूर्योदय तथा सूर्यास्त हेर्नलाई परिचित छ । अन्नपूर्ण फन्को मार्न र दसैं–तिहारको छुट्टी मनाउन आएका आन्तरिक पर्यटकको भीडले तातोपानीका होटल तथा गेस्ट हाउस पनि खचाखच भएका हुन् । त्यसैले पुनहिल डाँडो यति बेला बिहान मिर्मिरेमै भरिभराउ हुने गरेको छ ।

‘मध्य असोजदेखि घोरेपानीमा बाह्य पर्यटकको संख्या धेरै बढेको देख्दा पर्यटन पुरानै लयमा फर्कन्छ कि भन्ने आशा पलाएको छ,’ पुनहिल पर्यटन विकास समितिकी अध्यक्ष मीना पुनले भन्नुभयो, ‘पुनहिल र घोरेपानीसम्म मोटरबाटोको पहुँच पुगेपछि आन्तरिक पर्यटक पनि धेरै आउने गरेका छन् ।’ पुनहिलमा पर्यटक बढाउन र बसाइ लम्ब्याउन व्यवसायीले घोरेपानी–प्यारीवराह तालसम्मको ८ किमि लामो साइकल मार्ग, पोनी ट्रेक पनि सुरु गरेका छन् ।