टीबीएमबाट १ महिनामा मरिण डाइभर्सनको ५०० मिटर सुरुङ खनिने
2022-10-21 16:15:25cri
Share with:

सुनकोसी मरिण डाइभर्सनको सुरुङ यतिखेर टीबीएमबाट खन्ने काम भइरहेको छ। दुई सय ३० मिटर लामो टीबीएमले सुरुङ कसरी खन्छ ? सुनकोसी मरिण डाइभर्सन आयोजनाका निर्देशक मित्र बरालको भनाइमा यो अटोमटिक टनेल बोरिङ मेसिन हो।

भेरी– बबई डाइभर्सनपछि दोस्रो पटक यस आयोजनामा यो प्रयोग भएको छ। यो मेसिनको सबै ‘सेगमेन्ट’ अटोमेटिक सिस्टममा छ। पाँच दशमलव पाँच मिटर 'डाय' रहेको यो मेसिनबाट ६ वटा सेगमेन्टमा काम गरिन्छ। सबैभन्दा अगाडिको ‘कटरहेड’ले भिरभित्र कटिङ गर्दै जान्छ। मेसिनले कटिङलाई स्वचालित रुपमा गोलाकार गर्दै जान्छ। कटिङ गरेर आएको ढुंगामाटोलाई ट्रली सिस्टमबाट माथि ल्याएर ‘रेलवे’ तरिकाबाट जम्मा गर्छ र त्यसलाई क्रमिक रुपमा बाहिर फाल्दै जाने कान्तिपुर अनलाइनले लेखेको छ।

निर्देशक बराल भन्नुहुन्छ, ‘अन्तर्राष्ट्रिय अनुभव र भेरी बबईको कुरा गर्ने हो भने २० मिटरदेखि ६० मिटरसम्म प्रतिदिन सुरुङ खनिने छ। यो सबै भौगर्भिक अवस्थामा भर पर्छ। यो आयोजनामा हामीले प्रतिमहिना कम्तीमा पाँचसय मिटर सुरुङ खन्ने लक्ष्य लिएका छौं। भौगोलिक वातावरणले साथ दिएमा पाँच सयदेखि सात सय मिटरसम्म हुन सक्छ।’ निर्देशक बरालका अनुसार टीबीएमले आठ/आठ घण्टाका दरले तीन सिफ्टमा गरी दिनको चौबीसै घण्टा सुरुङ खन्ने छ। चिनियाँ ठेकेदार कम्पनी चाइना ओभरसिजले १३ दशमलव ३ किलोमिटर सुरुङ २२ महिनामा खनेर सम्पन्न गर्ने लक्ष्य लिएको छ।

सुनकोसी नदीको पानी सुरुङबाट मरिणखोलामा खसाली तराईका खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्‍याउने आयोजनाको प्रमुख उद्देश्य हो। सिन्धुलीको कमलामाई नगरपालिका–२ कुसुमटार नजिक मरिण फाँटबाट चार दिनदेखि धमाधम सुरुङ खनिँदै छ। मरिणबाट सुरुङ खन्दै सुनकोसी गाउँपालिकाको कानढुंग्री नजिक सुनकोसी नदीमा पुग्नेछ। यो तामाकोसी र सुनकोसी नदीको संगमस्थल त्रिवेणीभन्दा ७ सय मिटर तल पर्छ। टीबीएम मेसिन मार्फत् ५–५ डायमिटरको पानी बग्ने सुरुङ रहने गरी ६–६ डायमिटर खनिने छ। आयोजनाका अनुसार सुनकोसीमा १२ मिटर उचाईको बाँध निर्माण गरी नदीको पानी १३ दशमलव तीन किलोमिटर लामो सुरुङमार्फत् प्रतिसेकेण्ड ६७ क्युसेक पानी कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिणखोलामा खसालिने छ। त्यहाँ पानी झारेर ३१ दशमलव ७ मेगावाट विद्युत् समेत उत्पादन गरिने छ। सुनकोसीको पानीलाई मरिण खोलामा झारेपछि विद्युत् उत्पादनसँगै तराईका जिल्ला रौतहट, बारा, धनुषा, महोत्तरी र सर्लाही जिल्लामा एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याइने छ।

सुनकोसी मरिण डाइभर्सन आयोजनाको सुरुङ निर्माणसँगै अन्य संरचना निर्माणको ठेक्का ११ अर्ब २९ करोड २७ लाख २६ हजार ३३४ रुपैयाँमा चाइना ओभरसिज कम्पनीलाई दिइएको छ। दुई वर्षअघि सुरु भएको आयोजना २०८२/०८३ सम्ममा सक्ने लक्ष्य रहेको छ। सुनकोसीमा आयोजना अन्तर्गत निर्माण हुने सुरुङमार्ग, हेडवक्र्स र पावर हाउस निर्माण मुख्य भौतिक संरचना रहेका छन्। हालसम्म ८ प्रतिशत मात्र काम सकिएको छ। आयोजना निर्माण गर्न कुल ४६ अर्ब १९ करोड रुपैयाँ लाग्नेमा यो वर्ष सरकारले दुई अर्ब ७० करोड विनियोजन गरेको छ।