नेपाली परिकार विश्वभर पु-याउन सकिने
2022-10-22 15:26:14cri
Share with:

‘बीबीसी मास्टर सेफ दी प्रोफेसनल्स’का विजेता सन्तोष साहले नेपाली परिकारलाई विश्वभर चिनाउन सम्भव रहेको बताउनुभएको छ। साहले भन्नुभयो, “नेपाली खानाको ब्रान्डिङ गर्न सक्ने सम्भावना धेरै ठूलो छ। खाडी देशदेखि बेलायत, अस्ट्रेलिया र अमेरिकासम्म नै नेपाली खाना पु¥याउन सकिन्छ। यस विषयमा म अध्ययन र सम्भावनाको खोजीमा लागेको छु।” मास्टर सेफ साह विश्वभरिका खानाका पारखीमाझ परिचित हुनुहुन्छ। आफूले स्थापित गरेको पहिचान सदुपयोग गर्दै नेपाली मौलिक खानाको प्रवद्र्धनमा जुट्ने उहाँले बताउनुएको गोरखापत्र अनलाइनले लेखेको छ। 

सेफ साहले बेलायतमा पाँच प्रकारका नेपाली खानाको बिक्री सुरु गरिएको बताउँदै अन्य क्षेत्रमा पनि यसलाई विस्तार गर्न सकिने धारणा व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “नेपाली चिया पनि भारतीय ब्रान्डमा बेलायत जान्छ। अरू धेरै नेपाली उत्पादन विश्व बजारमा हाम्रो हो भनेर परिचित गराउन सकिएको छैन। त्यसैले मैले नवीनतम प्रयास थालनी गरेको हुँ।”

सेफ साहले राज्यबाट सहयोग भएमा नेपाली खानालाई विश्व बजारमा प्रवद्र्धन गर्न अझै सहज हुने बताउनुभयो। 

विश्व चर्चित सेफ साह खानासम्बन्धी टेलिभिजन रियालिटी सो ‘सेफ नेपाल’मा प्रमुख निर्णायक (मास्टर जज)को जिम्मेवारीमा देखिनु हुने भएको छ। सेफ गणेशबहादुर ढकाल र लक्ष्मणप्रसाद भण्डारी निर्णायकका रूपमा रहनु हुनेछ। कात्तिक तेस्रो सातादेखि छायाङ्कन आरम्भ हुने कार्यक्रम १८ शृङ्खलामा निर्माण हुनेछ।