नेपालको आर्थिक वृद्धिदर ४.२ प्रतिशत रहने आइएमएफको प्रक्षेपण
2022-10-25 20:18:59cri
Share with:

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर चार दशमलव दुई प्रतिशत रहने नयाँ प्रक्षेपण सार्वजनिक गरेको छ। यसैसाता ‘वर्ल्ड इकनोमिक आउटलुकः काउन्टरिङ द कस्ट अफ लिभिङ क्राइसिस’ प्रतिवेदन सार्वजनिक गर्दैै आइएमएफले आर्थिक वृद्धिदरको सुरुवाती अनुमानमा संशोधन गरेको हो । गत जनवरीमा आइएमएफले नेपालको आर्थिक वृद्धिदर ४ दशमलव एक प्रतिशत रहने प्रक्षेपण गरेको कान्तिपुर अनलाइनमा खबर छ।

 

आइएमएफले सन् २०२३ मा भने नेपालको आर्थिक वृद्धिदर घट्ने अनुमान गरेको छ। आइएमएफले गत जनवरीमा गरेको प्रक्षेपणअनुसार आगामी वर्ष नेपालले छ दशमलव एक प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान गरिएको थियो । तर हाल उक्त प्रक्षेपणलाई घटाएर पाँच प्रतिशत सीमित गरिएको छ । सरकारले भने आर्थिक वर्ष २०७९/८० का लागि आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ ।

त्यस्तै आइएमएफले मूल्यवृद्धिको यसअघिको अनुमान पनि संशोधन गरेको छ । मुद्रास्फीति सन् २०२२ मा छ दशमलव तीन प्रतिशत र सन् २०२३ मा सात दशमलव ७ प्रतिशत रहने आइएमएफको सुरुवाती अनुमान थियो । तर अहिले त्यसलाई संशोधन गर्दै २०२२ मा आठ दशमलव एक प्रतिशत र २०२३ मा सात दशमलव दुई प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

चालु आर्थिक वर्षको बजेटमार्फत् सरकारले भने मूल्यवृद्धिलाई सात प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने प्रक्षेपण गरेको छ । पछिल्लो समय मुल्यवृद्धिका कारण विश्व अर्थतन्त्र नै समस्यामा परेको छ । कोभिड महामारी र रुस-युक्रेनबीचको युद्धलाई विश्व आर्थिक मन्दीको प्रमुख कारण ठानिएको छ ।आइएमएफका अनुसार विश्व अर्थतन्त्रको वृद्धिदर सन् २०२१ मा छ प्रतिशत रहेकोमा सन् २०२२ मा घटेर ३.२ प्रतिशतमा सीमित हुनेछ।