काठमाडौंमा ९० प्रतिशत विदेशी फलफूल, १५ करोडको चिनियाँ स्याउ काठमाडौंमा
2022-10-28 15:17:49cri
Share with:

काठमाडौं उपत्यकामा भित्रिने कूल फलफूलको ८० देखि ९० प्रतिशत कालिमाटी र कुलेश्वरको बजारमा जम्मा हुने गरेका छन्। नेपाल फलफूल थोक व्यवसाय सङ्घ, काठमाडौंका अध्यक्ष अम्मर बानियाँका अनुसार कुलेश्वरस्थित थोक बजारमा फलफूल मात्रै पाइन्छ। उपत्यकाभर र उपत्यका आसपासका जिल्लाका व्यवसायीले कुलेश्वरस्थित सोही बजारबाट फलफूल किनेर लाने गर्छन्।

 

तिहारमा मुख्यगरी फलफूल स्याउ, सुन्तला, मौसम, केरा, नरिवलको खपत बढी हुने गर्दछ। हुनेखानेले किबी, अङ्गुर, ड्रागन फ्रुटलगायत महङ्गा फलफूल पनि किन्ने भएकाले त्यस्ता फलफूल पनि केही मात्रामा बिक्री हुने गर्छ।

अध्यक्ष बानियाँका अनुसार तिहारको लागि रु १० करोडको कास्मिरबाट चकलेटी स्याउ भित्रिएको छ। चिनियाँ स्याउ २० करोड रुपैयाँको आएको छ। यसरी बाहिरबाट १० र २० करोड गरी ३० करोड रुपैयाँको स्याउ यसपटक भित्रियो। मनाङ, मुस्ताङलगायत जिल्लाबाट करिब तीन करोडको स्याउ उपत्यका भित्रिएको छ।

 

अध्यक्ष बानियाँका अनुसार नेपालभर कूल स्याउ खपतको करिब १० प्रतिशत मात्रै नेपाली स्याउले स्थान पाएको बताउँछन्। उहाँको अनुमानका अनुसार रु १५ करोडको चिनियाँ स्याउ काठमाडौं उपत्यकामा मात्र खपत हुन्छ भने नेपाली, चिनियाँ र भारतीय गरी करिब २५ करोड रुपैयाँको स्याउ उपत्यकाका उपभोक्ताले खाने रहेछन्।

नेपालमा केरा भारतबाट मात्र भित्रिन्छ। केराको बजार दुई महिनायता लगभग ३० प्रतिशत नेपाली र ७० प्रतिशत भारतीय रहेको बानियाँले बताउनुभयो। पछिल्लो समय सरकारले किसानलाई प्रोत्साहन गर्न नेपाली केराको उत्पादन तथा बिक्री बढाउन भनेर विदेशी केरा प्रतितपत्र (एलसी) मार्फत मात्रै भित्र्याउन पाइने व्यवस्था गरेको छ।

बजारमा नेपालीभन्दा भारतीय केरा महङ्गोमा भए पनि उपभोक्ताले किन्ने गर्छन्। भारतीय केरा महाराष्ट्र, आन्द्राबाट तीन दिनमा आइपुग्दा पनि जस्ताको तस्तै हुन्छ।

 

व्यावसायिक खेतीलाई जबसम्म प्रोत्साहन गरिँदैन तबसम्म नेपालमा भारतीय केरा विस्थापित नहुने बताउँदै बानियाँ भन्नुहुन्छ, ‘भारतीय केरा हेर्दा मिलेको राम्रो, ठूलो, मोटो हुन्छ। उनीहरुको केरा हेर्दै किनौंकिनौं लाग्ने प्याकेजिङ, ग्रेडिङ सबै राम्रो मिलेको हुन्छ र खाँदा पनि स्वादिलो छ। तर, नेपाली केरा खाँदा स्वादिलो भए पनि हेर्दा राम्रो देखिँदैन र लापर्वाहीका कारण बजारमा गिलो र दाग भएका हुन्छन् जसले गर्दा उपभोक्ताले बढी मूल्य तिरेरै भए पनि राम्रो नै किनेर लाने गर्छन्।’

 

तिहारको लागि कुलेश्वर थोक बजारमा मात्रै भारतबाट पाँच करोड मूल्यको सुन्तला भित्रिएको छ भने मौसम तीन करोड रुपैयाँको भित्रिएको छ। अहिले नेपालको सुन्तलाको याम सुरु नभइसकेकाले बजारमा नेपाली सुन्तलाको बिक्री शून्य छ। त्यस्तै लक्ष्मीपूजा गर्नको लागि नरिवल दुई करोडको भित्रिएको छ। यसरी तिहारमा चाहिने मुख्यमुख्य पाँच/छ थरिका फलफूल सो बजारमा मात्रै रु ७५ करोडको आयात भएको छ।

 

यतिबेला भारतीय हलुवावेद बजारमा छ्याप्छ्याप्ती छ। त्यस्तै काँचै खान मिल्ने जापानी हलुवावेद पनि बजारमा पर्याप्त मात्रामा छ। अध्यक्ष बानियाँका अनुसार पहिला इटालीबाट भित्र्याइने किबी अहिले चेचेनीयको किबीले नेपाली बजार लिएको छ। पछिल्लो समयमा नेपालमा पनि किबी उत्पादन हुन थालेपछि अब विस्तारै बाहिरको किबी विस्थापित हुने क्रममा छ। त्यसैगरी नेपाली बजारमा पाइने ड्रागन फ्रुट भियतनामबाट भित्रिएको हो। उहाँका अनुसार किसानलाई दक्ष प्राविधिक ज्ञान नदिएसम्म नेपाली उत्पादन बिक्री हुन गाह्रो हुन्छ। रासस।