नेपाल चीन संयुक्त लगानीको हिमालय एयरलाइन्सले भैरहवा उडान सुरु गर्ने
2022-11-02 16:10:34CRI
Share with:

चिनियाँ र नेपाली लगानीमा सञ्चालित हिमालय एयरलाइन्सले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान थाल्ने भएको छ। उडान थाल्ने विषयमा नियामक नागरिक उड्डयन प्राधिकरणसँग वायुसेवा कम्पनीहरूको रस्साकस्सी चलिरहँदा हिमालय एयरलाइन्सले भने उडान सुरु गर्ने भएको गोरखापत्र अनलाइनले लेखेको छ। 

नेपालचीन संयुक्त लगानीको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालयले गौतम बुद्व विमानस्थलमा यात्रुवाहक चार्टर उडान गर्न नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको छ।

प्राधिकरणले आइतबारदेखि लागू भएको हिउँदे उडान तालिकाअनुसार काठमाडौँमा हुँदै आएका तीन उडानको एक उडान भैरहवामा सारेपछि हिमालयले आगामी बिहीबारदेखि गौतम बुद्व विमानस्थलमा चार्टर उडानबाट हवाई सेवा सुरु गर्न लागेको छ। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले नियमित उडान सुरु गर्नुअघि एयर सर्भिस एग्रिमेन्ट नवीकरण गर्न समय लाग्ने भएपछि हिमालयले भैरहवाबाट चार्टर उडान सुरु गर्न लागेको बताउनुभयो। उहाँले भन्नुभयो, “हिमालय एयरलाइन्स भैरहवाबाट कात्तिक १७ देखि २४ गतेसम्म दैनिक एक यात्रुवाहक चार्टर उडान गर्न मागेको अनुमति प्राधिकरणले स्वीकृत गरेको छ। नेपाल वायुसेवा निगमले पनि हिउँदे उडान तालिकाअनुसार नयाँ तालिका सार्वजनिक गर्न सहमति जनाइसकेको छ।

हिमालयले भैरहवाबाट मलेसियाको क्वालालम्पुरका लागि चार्टर उडान सुरु गर्न लागेको उहाँले बताउनुभयो। प्राधिकरणले हिमालयको काठमाडौँबाट क्वालालम्पुर गएर भैरहवा फर्किने र भैरहवाबाट क्वालालम्पुर गएर काठमाडौँ फर्किने गरी तीनवटा विमानस्थललाई जोड्ने गरी उडान तालिका स्वीकृत गरेको उहाँको भनाइ छ।

भैरहवामा ह्याङ्गरलगायतका संरचना बनाउन केही समय लाग्ने भएपछि हिमालयले चार्टर उडानबाट सेवा सुरु गर्दै छ भने निगमको उडान तालिका बोर्डबाट समेत स्वीकृत गर्नुपर्ने भएकाले नयाँ तालिका ल्याउन केही समय मागेको छ,” उहाँले भन्नुभयो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्दै आएका निगम र हिमालयलाई गौतम बुद्ध विमानस्थलबाट उडान गर्न प्राधिकरणले यसअघि नै लिखित निर्देशन दिएको थियो।

यसअघि हिमालयले गौतम बुद्व विमानस्थलमा उडान थाल्न व्यावसायिक भूमिस्थ प्रबन्ध सेवा (कमर्सियल ग्राउन्ड ह्यान्डलिङ)को जिम्मा दिनुपर्ने सर्त राख्दै आएको थियो। हाललाई चार्टर उडानको ग्राउन्ड ह्यान्डलिङ भने निगमले नै गर्नेछ।

हाल गौतम बुद्ध विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङको काम निगमले गर्दै आएको छ। भैरहवामा निगमले उडान नगरे ग्राउन्ड ह्यान्डलिङ प्रतिस्पर्धाका आधारमा दिने प्राधिकरणले सर्त राखेपछि निगमको आम्दानीको मुख्य स्रोत खोसिने सम्भावनाले निगम भैरहवामा उडान गर्न तयार भएको प्राधिकरण स्रोतले जनाएको छ। 

हाल निगमले त्रिभुवन अन्तर्राष्ट्रियसहितका विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङको जिम्मा लिएको छ। हरेक पाँच वर्षमा हुँदै आएको ग्राउन्ड ह्यान्डलिङ नवीकरण सन् २०२३ मा हुँदै छ। 

हवाई कानुनमा कुनै पनि वायुसेवा कम्पनीले साताको ३५ वटा उडान गरेबापत ग्राउन्ड ह्यान्डलिङ सेवा दिन सक्ने उल्लेख भए पनि ग्राउन्ड ह्यान्डलिङमा हाल निगमको एकाधिकार जस्तै रहेको छ।