चीनको गरिबी निवारणबाट नेपालले शिक्षा लिनुपर्ने मन्त्रिपरिषद्का पूर्वअध्यक्षको भनाइ
2022-11-11 16:02:02CRI
Share with:

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले चीनले गरेको गरिबी निवारणबाट नेपालले शिक्षा लिनुपर्ने बताउनुभएको छ। चिनियाँ कम्युनिस्ट पार्टीको सम्पन्न २०औँ महाधिवेशनको अवसरमा नेपाल चीन मैत्री मञ्चले आयोजना गरेको कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो। गरिबी निवारणमा विश्वमै चीनले पहिलो स्थान हासिल गरेको बताउँदै उहाँले छिमेकी मुलुक भएका कारण नेपालले त्यसको अनुसरण गर्नुपर्ने बताउनुभयो। 

पूर्वअध्यक्ष रेग्मीले भन्नुभयो, “चीनले गरेको जस्तो नेपालले तत्कालै गर्न त सक्दैन तर प्रयास थाल्नुपर्छ।” गरिबी निवारणमा चीनले अभूतपूर्व प्रगति गरेको उल्लेख गर्दै यो कुनै एउटा व्यक्तिले भन्दा पनि त्यहाँ राज्यले गरेको कुशल व्यवस्थापनका कारणले सम्भव भएको उहाँले बताउनुभयो। 

अर्थ राजनीतिलाई चीनले फरक ढङ्गले अगाडि बढाइरहेको बताउँदै उहाँले कृषिमा गरेको प्रगतिबाट नेपालले शिक्षा लिनुपर्ने पनि उहाँले बताउनुभयो। चिनियाँ कम्युनिस्ट पार्टीको सम्पन्न महाधिवेशनपछि चीनले झन् प्रगति गर्ने विश्वास गर्न सकिने उहाँले बताउनुभयो। चीन र नेपालबीच सन् १९५५ देखि औपचारिक सम्बन्ध भए पनि अनौपचारिक सम्बन्ध धेरै पुरानो रहेको उहाँले बताउनुभयो। अरनिकोको कला सीपलाई लिएर नेपाल–चीनबीच सम्बन्ध झन् बलियो भएको धारणा उहाँले राख्नुभयो। 

कार्यक्रममा वाम विश्लेषक श्याम श्रेष्ठले पश्चिमा देशहरूलाई आश्चर्यचकित पार्दै चीनले आर्थिक रूपमा विकास गरेको बताउनुभयो। चीनको अवस्था हेर्दा त्यहाँ गरिबी निवारण गर्ने अवस्था थिएन तर छोटो समयमा त्यहाँको गरिबीलाई करिब करिब शून्यमा झारेको उहाँले बताउनुभयो। 

अर्का वाम विश्लेषक झलक सुवेदीले पनि चीनले अघि सारेको ‘साझा समृद्वि’ को अवधारणाबाट नेपालले फाइदा लिनुपर्ने सुझाव दिनुभयो। २०औँ महाधिवेशनको उपलब्धि नै सीले गरिब र धनीबीचको खाडल पुर्नु रहेको बताउनुभयो। मञ्चका अध्यक्ष कल्याणराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा काठमाडौँ युनिभर्सिटीका डा. उद्धव प्याकुरेल, नेपाल खुला विश्वविद्यालयका प्राध्यापक डा. खगेन्द्र प्रसाईंले पनि चीनले गरेको विकासबारे चर्चा गर्नुभएको थियो, गोरखापत्र अनलाइनमा खबर छ।