समृद्ध राष्ट्र निर्माणका लागि अर्थतन्त्रमा सुधार गर्नुपर्ने कार्यवाहक राष्ट्रपति पुनको भनाइ
2022-11-11 15:32:11CRI
Share with:

कार्यवाहक राष्ट्रपति नन्दबहादुर पुनले आर्थिक, सामाजिक रुपान्तरण सहितको समृद्ध राष्ट्र निर्माणका लागि अर्थतन्त्रमा सुधार गर्नुपर्ने बताउनुभएको छ। नेपाल–चीन उद्योग वाणिज्य संघको २३ औं वार्षिक साधरणसभालाई बिहीबार सम्बोधन गर्दै कार्यवाहक राष्ट्रपति पुनले आर्थिक सामाजिक रुपान्तरण सहितको समृद्ध राष्ट्र निर्माणका लागि अर्थतन्त्रमा सुधार गर्नुपर्ने बताउनुभएको हो। 

उहाँले नेपाल उत्पादित वस्तुमा आत्मनिर्भर भई निर्यात वृद्धि गर्न नसकेसम्म मुलुक आर्थिक रुपमा समृद्धि हुन नसक्ने बताउनुभएको कान्तिपुर अनलाइनले लेखेको छ। 

नेपाली उत्पादित वस्तु चीनमा निर्यात बढाउन नेपाल–चीन उद्योग वाणिज्य संघलगायतका संस्थाले समन्वय र सहकार्य गर्न आवश्यक रहेको उहाँको भनाइ थियो। कार्यवाहक राष्ट्रपति पुनले सरकारले आर्थिक समृद्धिलाई मुख्य एजेन्डा बनाए पनि मुलुकको व्यापारको अवस्था भने सन्तोषजनक नभएको भन्दै चिन्ता व्यक्त गर्नुभयो। 

उहाँले गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको तीन महिनाको आर्थिक तथ्यांक हेर्दा चीन तर्फको निर्यात निरन्तर घट्दो अवस्था रहेको भन्दै यस्तो हुनु नेपालको अर्थतन्त्रका लागि सकारात्मक सन्देश नभएको बताउनुभयो। उहाँले नेपालको कृषिजन्य उत्पादन, जडिबुटी र खनिजजन्य सामग्री चीन निर्यातको ठूलो सम्भवना रहेको पनि बताउनुभयो।