सगरमाथा आधारशिविर पैदल जाने बढे
2022-11-11 15:41:04CRI
Share with:

उत्तरी रामेछापको शिवालय हुँदै पैदल मार्गबाट सगरमाथा आधारशिविरतर्फ जाने विदेशी पर्यटकको संख्या वृद्धि भएको छ । कोरोना महामारीका कारण गएका केही वर्ष न्यून संख्यामा मात्र रामेछाप हुँदै विदेशी पर्यटक सगरमाथातर्फ गएका थिए । 

गौरीशंकर संरक्षण क्षेत्रको शिवालय चेकपोस्टमा राखिएको तथ्यांकअनुसार गत सेप्टेम्बरमा २५, अक्टोबरमा १ सय ५९ र नोभेम्बरमा हालसम्म ७३ गरी २ सय ५७ जना पर्यटक रामेछापको शिवालय हुँदै सगरमाथातर्फ गएका छन् । गत वर्ष सोही अवधिमा ३६ जना विदेशी पर्यटकले मात्र उक्त पैदल मार्ग प्रयोग गरेका थिए । 

दोलखाको जिरीसम्म सवारीसाधन प्रयोग गर्ने पर्यटकले त्यसपछि सगरमाथा आधार शिविरसम्म पैदल मार्ग रोज्ने गरेका छन् । कोरोनाले विदेशी पर्यटकको आगमनमा आएको कमीका कारण उक्त पदमार्ग सुनसान थियो । 

सोलुको लुक्लाका लागि निजी क्षेत्रका हवाई कम्पनीले उडान गर्न थालेपछि धेरैजसो पर्यटक काठमाडौंबाट सीधै जहाजमा लुक्ला पुग्न थालेपछि खचाखच पैदल यात्रु हुने उक्त पदमार्गमा विदेशी पर्यटक घट्ने क्रम सुरु भएको हो । 

हवाई यात्राभन्दा पैदल यात्रा गरेर पर्यटन गर्दै केही दिन लगाएर सोलु पुग्ने पर्यटकले भने अझै पनि यो मार्ग नछाडेको स्थानीय आङनिमा शेर्पाले बताउनुभयो। गौरीशंकर संरक्षण क्षेत्रमा पर्ने नुम्बुर चिज सर्किटसमेत विदेशी पर्यटकका लागि खुला छ । तर उक्त सर्किटमा भने यो वर्ष कुनै पनि विदेशीले पैदल यात्राका लागि अनुमति नलिएको संरक्षण क्षेत्रकी अरुणिमा कार्कीले जनाउनुभयो। कान्तिपुर।