३९२ मतदान केन्द्र पूर्ण अपांगमैत्री, अन्यमा सामान्य संरचना
2022-11-18 16:21:24cri
Share with:

नेपालको निर्वाचन आयोगले तीन सय ९२ मतदान केन्द्र अपांगमैत्री बनाएको छ । २२ हजार २२७ मतदान केन्द्रमध्ये काठमाडौँ उपत्यकाभित्र र सातवटै प्रदेशका राजधानीमा गरी १० जिल्लाको तीन सय ९२ मतदान केन्द्र पूर्ण रूपले अपांगमैत्री बनाएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताउनु भएको नयाँ पत्रिका अनलाइनले लेखेको छ । 

तथ्यांक विभागका अनुसार कुल जनसंख्याको करिब दुई प्रतिशत अपांगता भएका व्यक्ति छन् । ‘अपांगता भएका व्यक्ति सबै मतदान केन्द्रमा हुन सक्छन् । अहिले हामीले केही ठाउँमा ४०–५० जना हेरेर नमुनाका रूपमा सयवटा मतदानस्थल र तीन सय ९२ केन्द्रलाई पूर्ण रूपले अपांगमैत्री तोकेका छौँ,’ थपलियाले भन्नुभयो । उहाँका अनुसार यी मतदान केन्द्रमा एक हजार २८ पुरुष र आठ सय ३८ महिला गरी कुल एक हजार ८८६ अपांगता भएका मतदाता छन् । 

आयोगले इन्टरनेसनल फाउन्डेसन फर इलेक्टोरल सिस्टम (आइएफइएस)को सहयोगमा नमुनाका रूपमा सहरी क्षेत्रमा अपांगमैत्री मतदान केन्द्र बनाएको हो ।आयोगको तथ्यांकअनुसार प्रदेश १ को राजधानी मोरङस्थित विराटनगर महानगरपालिकामा आठ तथा बेलबारी र सुन्दरहरैँचा नगरपालिकामा एक–एक मतदानस्थल अपांगमैत्री रहेको छ ।  

प्रदेश २ को राजधानी धनुषास्थित जनकपुर उपमहानगरपालिकामा १० मतदानस्थल अपांगमैत्री छन् । बागमती प्रदेशको राजधानी मकवानपुरस्थित हेटौँडा उपमहानगरपालिकामा १०, काठमाडौं उपत्यकास्थित काठमाडौं महानगरमा नौ र गोकर्णेश्वर नगरपालिकामा एक, ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिकामा १०–१० गरी ४० वटा मतदानस्थल अपांगमैत्री छन् ।

गण्डकी प्रदेशको राजधानी कास्कीस्थित पोखरा महानगरपालिकामा १०, लुम्बिनी प्रदेशको रुपन्देहीस्थित बुटवल उपमहानगरपालिकामा ६ र तिलोत्तमा नगरपालिकामा चार, कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्र नगरपालिकामा १०, सुदूरपश्चिमको राजधानी कैलालीस्थित धनगढी उपमहानगर र गोदावरी नगरपालिकामा पाँच–पाँच मतदानस्थल रहेका छन् ।