नेपालमा ८११ मेगावाट विद्युत थपिँदै, स्वदेशी उत्पादन बढ्ने भएपछि विद्युत् आयात घट्ने
2022-11-28 15:54:12CRI
Share with:

चालू आर्थिक वर्ष नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा ४७ नयाँ विद्युत् आयोजना थपिने भएका छन्। विद्युत् विकास विभागमा पेस गरिएको व्यावसायिक उत्पादनको तालिकाअनुसार चालू आर्थिक वर्षको अहिलेसम्म १० वटा आयोजनाले विद्युत् उत्पादन थालिसकेका छन्। कात्तिक मसान्तभित्र थपिएको यी १० आयोजनाले १२७.६८ मेगावाट उत्पादन थालिसकेका गोरखापत्र अनलाइनले लेखेको छ।

उत्पादन थालिसकेका यी १० र यसै वर्षभित्र उत्पादन सुरु गर्ने तयारी गरिरहेका ४७ गरी चालू आर्थिक वर्षमा ५७ वटा विद्युत् आयोजनाको ८११.८६ मेगावाट विद्युत् प्रणालीमा आबद्ध हुने देखिएको छ। यीमध्ये तीन सौर्य विद्युत् आयोजना हुन् भने बाँकी जलप्रवाही जलविद्युत् आयोजना छन्। मङ्सिर लागेसँगै २५ मेगावाटको  अप्पर दोर्दीले पनि परीक्षण उत्पादन सुरु गरेको छ। यसबाहेक बागलुङको कालङ्गा (१५ मेगावाट), पर्वतको मध्यमोदी (१८ मेगावाट) र सोलुखुम्बुको मध्य सोलुखोला (नौ मेगावाट)ले यही महिना परीक्षण उत्पादन गर्ने भएका छन्।

देशभित्र खपत भएर धेरै भएको विद्युत् भारत निर्यात गरिरहेको प्राधिकरणले पुस लागेसँगै भारतबाट आयात गर्नुपर्ने हुन्छ। तर आयात गर्नुपर्ने यही समयमै देशभित्र बनिरहेका आयोजनाले व्यावसायिक उत्पादन थाल्ने भएपछि भारतबाट विद्युत् आयातको परिमाण घट्नेछ।

प्राधिकरणका अनुसार मङ्सिर महिनामा मात्रै चार आयोजनाबाट ६७ मेगावाट विद्युत् थप हुँदै छ। यीमध्ये लमजुङमा रहेको २५ मेगावाटको अप्पर दोर्दी ए आयोजनाले परीक्षण उत्पादन थालिसकेको छ। पुसमा १० मेगावाटको मार्कीगाड, ४.७२ मेगावाटको अप्पर पिलुवा, ४.५५ मेगावाटको अपर माछाखोलाले व्यावसायिक उत्पादन थाल्ने तयारीमा छन्।

माघमा वर्षभरिकै धेरै एकै पटक २४४.२६ मेगावाट क्षमताका विद्युत् आयोजनाले व्यावसायिक विद्युत् उत्पादन गर्ने योजना विद्युत् विकास विभागमा पेस गरेका छन्। ८६ मेगावाटको सोलुखोला (दूधकोसी), ५४ मेगावाटको सुपरदोर्दी, ४४ मेगावाटको सुपरमादी, ३८ मेगावाटको अप्पर कलगागाडलगायतका नौ जलविद्युत् आयोजना पनि माघमै विद्युत् उत्पादन थाल्ने योजनामा छन्।

फागुन महिनाभरमा नेपालमा विद्युत्को जडित क्षमता ८४.३ मेगावाट थप हुने छ। थपिने आयोजनामा ३३.४ मेगावाटको लिखु–२, १० मेगावाटको तल्लो पिलुवा, १४ मेगावाटको मायाखोला, १८ मेगावाटको अप्पर सोलुखोलालगायत सातवटा जलविद्युत् आयोजनाले विद्युत् उत्पादन सुरु गर्दैछन्।

यसअनुसार फागुनसम्म थपिने ५४३ क्षमताका विद्युत् आयोजनाका कारण नेपाल विद्युत् प्राधिकरणलाई भारतबाट कम मात्रै विद्युत् आयात गरे पुग्ने अवस्था आएको छ। यद्यपि सबै आयोजना जलप्रवाही भएकाले जडित क्षमताको करिब ४० प्रतिशत मात्रै विद्युत् उत्पादन हुनेछ।

कुनै विशेष अवरोध नआए आगामी चैतदेखि असारसम्ममा २६८.६५ मेगावाट क्षमताका जलविद्युत् आयोजना सम्पन्न हुनेछन्।

चालू आर्थिक वर्षमा उत्पादन सुरु गर्ने आयोजनामा साना आयोजनाकै बाहुल्यता छ। १० मेगावाटभन्दा कम क्षमताका मात्रै ३१ विद्युत् आयोजना छन्।

साहस ऊर्जाले निर्माण गरेको ८६ मेगावाट क्षमताको  सोलुखोला जलविद्युत् आयोजना (सोलुखुम्बु) सबैभन्दा ठूलो आयोजना हो। यसले माघमै विद्युत् उत्पादनको तयारी गरिरहेको छ। ५० मेगावाटभन्दा माथिका अन्य आयोजनामा ५४ मेगावाटको सुपरदोर्दी (लमजुङ) र ५१.४ मेगावाटको लिखुखोला (रामेछापर र सोलु) रहेका छन्। सुपरदोर्दी पिपुल्स हाइड्रोपावरले निर्माण गरिरहेको छ भने लिखुको प्रवद्र्धक कम्पनीमा पान हिमालय इनर्जी रहेको छ।

यो वर्ष विद्युत् उत्पादन हुने ८११ मध्ये सौर्य ऊर्जाका आठवटा आयोजनाले ३६.८ मेगावाट उत्पादन गर्दैछन्।  यीमध्ये नेसनल सोलर पावर कम्पनीले नवलपरासीमा पाँच मेगावाट, अपी पावरले सिमरामा एक मेगावाट र नेपाल सोलार फार्मले कास्कीमा चार मेगावाट उत्पादन थालिसकेका छन्।

अब थपिने सौर्य आयोजनामा प्योर इनर्जी प्रालिले बाँकेमा बनाइरहेको १०–१० मेगावाट क्षमताका दुई आयोजना, ग्लोबल इनर्जीले दुहबीमा बनाइरहेको प्लान्टबाट आठ मेगावाट, जीआई सोलरले मोरङमा ६.८ मेगावाट र  सौर्य विद्युत् पावरले नवलपरासीमा दुई मेगावाट विद्युत् उत्पादन गर्ने अन्तिम तयारीमा जुटेका छन्।