नयाँ वर्ष २०२३ मा चिनियाँ पर्यटकको पहिलो अन्तर्राष्ट्रिय भ्रमण सुरु
2023-01-10 16:26:35cri
Share with:

सन् २०२३ को जनवरी ९ मा, चीनको प्रवेश र बहिर्गमन नीतिको समायोजनपछि थाइल्याण्ड पुगेका पहिलो खेपका यात्रुहरूका लागि थाइल्याण्डको स्वास्थ्य मन्त्रालय, पर्यटन तथा खेलकुद मन्त्रालय र यातायात मन्त्रालयले संयुक्त रूपमा सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत समारोह आयोजना गरेका छन्। फुच्यान प्रान्तीय स्यामनबाट गएको उक्त विमानमा २६९ जना चिनियाँ यात्रुहरू थिए।

थाइल्याण्डका उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री अनुटिन चार्न भिराकुल, पर्यटन तथा खेलकूद मन्त्री फिफाट रतचाकिटप्राकर्ण र यातायात मन्त्री सक्षम चिड्चोबले चिनियाँ यात्रुलाई फूल र स्मारिका प्रदान गर्नुभएको छ।

महामारीअघि चीन नै थाइल्याण्डको सबैभन्दा ठूलो पर्यटकको स्रोत थियो र सन् २०१८ मा थाइल्याण्डको भ्रमण गरेका चिनियाँ पर्यटकहरूको संख्या एक करोडभन्दा बढी थियो। थाई बजारमा चिनियाँ पर्यटकको फिर्ताबाट आफ्नो अर्थतन्त्रलाई उकास्ने आशा महामारीबाट निकै प्रभावित थाइल्याण्डले राखेको छ।

विश्वका धेरै मुलुकहरूले पनि चिनियाँ पर्यटकको स्वागत गर्ने तथा फरक–फरक प्रवेश नीति नअपनाउने जनाएका छन्।