अब पोखराबाट पनि रात्रि उडान
2023-02-23 16:39:40CRI
Share with:

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबारदेखि कुनै पनि वायुसेवा कम्पनीले रात्रिकालिन हवाई उडान भर्न सक्ने भएका छन्। गत पुस १७ मा निकै तामझामका साथ उद्घाटन भएको यो विमानस्थलबाट अब रात्रिकालिन हवाई उडान गर्न सकिने व्यवस्था गरिएको विमानस्थल कार्यालय प्रमुख विक्रम गौतमले बताउनु भएको कारोबार अनलाइनले लेखेको छ।

“बिहीबारदेखि रात्रिकालिन एयर खुला भएकाले हामी राति १२ बजेसम्म सेवा दिन तयारी अवस्थामा रहने छौं,” गौतमले भन्नुभयो। उहाँका अनुसार बिहान ६ देखि बेलुका ५ बजेसम्म एउटा सेड्युलमा हवाई उडान हुनेछ भने त्यसपछि रात्रिकालिन सेवाअन्तर्गत बेलुका थप ६ घण्टा सञ्चालन हुनेछ।

अहिलेसम्म कुनै कम्पनीले पनि रात्रिकालिन सेवाका लागि समय तालिका प्राप्त नगरेको र माग भए उनीहरुलाई उडान अनुमति दिन आफूहरु तयारी अवस्थामा रहेको उहाँले जनाउनुभयो। सुरक्षाका विषयमा आफूहरु निकै गम्भिरतापूर्वक लागेको उहाँले बताउनुभयो। स्थानीयवासीले माग गरेको ४७ वर्षपछि पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएसँगै यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा ठूलो आशा र भरोसा गरिएको थियो। तर, गत माघ १ मा भएको विमान दुर्घटनाले पर्यटन आगमनमा केही असर परेको छ।

हवाई उडानको रात्रिकालिन सेवा पोखराबाट हुने भएपछि यहाँका उद्योगी–व्यवसायी उत्साहित भएका छन्। पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरामा रात्रिकालिन हवाई उडानले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो।

साँझ–बिहान तथा रातिको समयमा पनि विभिन्न क्षेत्रबाट पोखरा आउन र यहाँबाट बाहिर जान पाउनु निकै खुसीको कुरा भएको अध्यक्ष श्रेष्ठले बताउनुभयो। रात्रिकालिन सेवाले आन्तरिक तथा बाह्य पर्यटकलाई पोखरा आउन सहज हुने उहाँले जनाउनुभयो। उडान शुल्कमा केही सहुलियत दिएर अहिलेको परिस्थितिमा पर्यटकलाई आकर्षण गर्नुपर्ने उनको भनाइ छ। रात्रिकालिन सेवासँगै अब पोखरादेखि अन्तर्राष्ट्रिय उडान गर्नुपर्ने माग अध्यक्ष श्रेष्ठको छ।