नेपाल यू–१९ विश्वकपमा छनोट
2023-03-03 18:36:16cri
Share with:

नेपाल सन् २०२४ मा श्रीलङ्कामा आयोजना हुने आईसीसी यू–१९ विश्वकपमा छनोट भएको छ। युएईस्थित आजमान इडेन गार्डेन ओभल क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपालले आयोजक यूएईलाई सात रनले हराएको गोरखापत्र अनलाइनले लेखेको छ।

युएईलाई हराउनैपर्ने फाइनल सरह अन्तिम खेलमा नेपालले रोमाञ्चक जित निकाल्दै दोस्रो पटक विश्वकपमा स्थान बनाएको हो। यसअघि नेपालले सन् २०१६ को विश्वकप खेलेको थियो। 

जितका लागि नेपालले दिएको एक सय ९२ रनको लक्ष्य पछ्याएको युएई ४८ ओभरमा सवै विकेटको क्षतिमा एक सय ८४ रनमा समेटिएको थियो। युएईका लागि इथान काल्लले सर्वाधिक ५० रन बनाउनुभयो।

आर्यान सक्सेनाले ३४, आर्याश शर्माले ३२ रअम्मर बदामीले १९ रन बनाउनुभयो। बलिङमा नेपालका दीपेश कँडेलले पाँच विकेट लिनुभयो। सुवास भण्डारी र हेमन्त धामीले दुई दुई विकेट झार्नुभयो। 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८.५ ओभरमा सबै विकेटको क्षतिमा एक सय ९१ रन बनाएको थियो। नेपालका लागि कप्तान देव खनालले अर्धशतकीय पारी खेल्नुभयो। उहाँले ५१ रन बनाउनुभयो।

विशाल विक्रम केसीले ३८, उत्तम थापामगरले ३६, दिपेश कँडेलले १५, हेमन्त धामीले १३ र मिलन बोहराले १० रन बनाउनुभयो। अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन्। 

बलिङमा युएईका ध्रुव परासरले तीन, कप्तान आयन खान र हरितहर्ष सिट्ठीले दुई दुई तथा हर्षित सेठ र अम्मर बदामीले एक एक विकेट लिनुभयो।

यस छनोट खेलमा आयोजक युएईसहित नेपाल, हङकङ, कुवेत, मलेसिया र सिङ्गापुर सहभागी थिए। नेपालले सबै खेलमा अपराजित रह्यो।