आयात प्रतिस्थापन मुख्य चुनौती रहेको गृहमन्त्रीको ठहर
2023-04-01 17:03:41cri
Share with:

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले स्वदेशी वस्तुको उत्पादन र प्रवद्र्धनमार्फत आयात प्रतिस्थापन अहिलेको मुख्य चुनौती भएको बताउनुभएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालले काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरेको ‘२४औँ फ्लोरा एक्स्पो’को शुक्रबार उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, “पुष्प व्यवसाय प्रवद्र्धनमार्फत अर्थतन्त्रमा टेवा पु-याउन यो क्षेत्रलाई थप विकास गर्दै लैजानुपर्छ ।”

सुशासन, पुँजीगत खर्च र आन्तरिक उत्पादन बढाएर आयात प्रतिस्थापनलाई वर्तमान सरकारले पहिलो प्राथमिकतामा राखेको बताउँदै उपप्रधानमन्त्री श्रेष्ठले सरकारको प्राथमिकतालाई सबै क्षेत्रको सहयोग र सहकार्य आवश्यक रहेको औँल्याउनुभयो । बिग्रँदो अर्थतन्त्रको सुधार गर्नुपर्ने धारणा व्यक्त गर्दै उहाँले यसको सुधारका लागि सरकारले हस्तक्षेप गर्नुपर्ने बताउनुभयो ।

फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले अहिले कृषि क्षेत्रमा लगानी घट्दै जाँदा उत्पादन खुम्चिएको र त्यसले आयात बढेको बताउनुभयो । बैङ्क तथा वित्तीय संस्थाले कृषि क्षेत्रमा पर्याप्त लगानी गर्न नसकेको चर्चा गर्दै उहाँले भन्नुभयो, “परियोजना धितो राखेर सजिलै परियोजना कर्जा पाउने र महिला उद्यमीका लागि पनि बिनाधितो महिला उद्यमी कर्जा प्रवाह गरिनुपर्छ ।”

कोभिड–१९ महामारीअघिसम्म नेपाल पुष्प व्यवसायमा आत्मनिर्भर भइसकेकोमा अहिले लगानी घट्दै गएपछि फेरि भारतबाट आयात बढेको भन्दै उहाँले पुष्प व्यवसायलाई कोरोनाअघिकै अवस्थामा ल्याउन धेरै चुनौती रहेको बताउनुभयो ।

एसोसिएसनका अनुसार अहिले पुष्प व्यवसायमा सात अर्ब रुपियाँ बराबरको लगानी र दुई अर्ब ३० करोड रुपियाँ वार्षिक कारोबार हुने गरेको छ । गत वर्ष भारतबाट ३६ अर्ब रुपियाँ बराबरको फूल आयात भएको एसोसिएसनका अध्यक्ष तामाङले जानकारी दिनुभयो। अहिले नेपालको पुष्प व्यवसायले भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्नुपर्ने बेलामा यो क्षेत्रमा लगानी घट्दै गएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो । पुष्प मेलामा ८० वटा स्टल रहेका छन्; जसमध्ये ६२ वटा व्यावसायिक स्टल, तीनवटा ल्यान्डस्केपिङ स्टल, १० वटा अफिसियल स्टल, तीनवटा प्रतियोगितात्मक प्रदर्शनी स्टल र दुईवटा फुड स्टल छन् ।

मेलामा मौसमी फूल, कट्फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोस्ट मल, फूलका बिउबिजन, ग्रिन हाउस, कृषि औजार, विषादी, प्याकेजिङ सामग्रीलगायतका स्टल राखिएका छन् । फूल नर्सरी, आपूर्तिकर्ता कम्पनी, व्यावसायिक तथा विभिन्न सङ्घसंस्थाका साथै भारत र बङ्गलादेशका पुष्प व्यवसायी पनि मेलामा सहभागिता हुने जनाइएको छ ।

मेलामा सहभागी विभिन्न पुष्प व्यवसायीद्वारा उत्पादित फूल बिरुवाबीच प्रतिस्पर्धा गराई उत्कृष्टलाई पुरस्कृत गरिएको छ । पुष्पजन्य वस्तुको बजारीकरण, यस क्षेत्रसँग सम्बन्धित नयाँ ज्ञान तथा सीप, बजारको अवस्थालगायतका विषयमा जानकारी लिन यो मेला उपयुक्त अवसर रहेको एसोसिएसनले जनाएको छ । ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ सुरु भएको मेला चैत २० गतेसम्म चल्नेछ।