बाँकेको २० हजार २०० हेक्टरमा वर्षभर सिँचाइ सुविधा
2023-04-04 16:06:26CRI
Share with:

बाँके जिल्लामा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइ आयोजनाको पूर्वी नहरको ३७ किलोमिटर नहर निर्माण कार्य सम्पन्न गरी पानी छोडिएको छ।

यसअघि सो आयोजनाको ४२.२५ किलोमिटरको पश्चिमी मूल नहर र यसका ५ वटा शाखाहरू (अकलघरवा, गोहवा, प्रसेनीपुर, पिडारी शाखा, सिधनिया शाखा) को खण्डगत रूपमा निर्माण सम्पन्न भएर पानी छोडिसकेको गोरखापत्र अनलाइनले लेखेको छ। 

अगैयामा रहेको आयोजनाको मुख्य बाँधबाट पूर्वी मूल नहरको ३७ किलोमिटरको निर्माण कार्य हाल सम्पन्न भई पानी परीक्षण गरेर किसानका लागि ३९ किलोमिटरसम्म नियमित पानी बगाइएको सिक्टा सिँचाइ आयोजनाले जनाएको छ।

सिक्टा सिँचाइ आयोजनाको ३७ किलोमिटर पूर्वी नहर र सो अन्तर्गतका ६ वटा शाखा नहरको निर्माण कार्य सम्पन्न भएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर विशाल यादवले जानकारी दिनुभयो।

उहाँले आयोजनाको पूर्वी नहरमा पर्ने फत्तेपुर, राजकुलोका साथै एस १ देखि एस ४ सम्म गरी ६ वटा शाखा नहरको निर्माण कार्य निर्धारित समयमै पूरा भई किसानको खेतबारीमा वर्षभर पानी पुग्ने गरी पानी बगाइएको बताउनुभयो।

सो नहरमा पानी छोडिँदा पूर्वी क्षेत्रको राप्तीसोनारी र नरैनापुरका ४२ सय हेक्टर जमिनमा वर्षभर सिँचाइ सुविधा पुगेको आयोजनाका सूचना अधिकारी समेत रहनुभएका डिभिजनल इन्जिनियर यादवले बताउनुभयो।

उहाँले आयोजनाबाट पश्चिममा ३३ हजार ७६६ र पूर्वमा नौ हजार हेक्टर गरी जम्मा ४२ हजार ७६६ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य रहेकोमा हालसम्म पश्चिममा १६ हजार र पूर्वमा ४२ सय गरेर २० हजार २ सय हेक्टरमा सिँचाइ सुविधा पुगेको बताउनुभयो।

पूर्वी नहरको निर्माण पूरा भई पानी समेत बगेको देख्दा निकै खुसी लागेको प्रतिक्रिया दिँदै राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले अब सिँचाइ सुविधा नभएको ४२ सय हेक्टर जग्गामा वर्षभर सिँचाइ पुगेकाले किसानलाई ठूलो राहत हुने बताउनुभयो।

पूर्वी नहर निर्माणका लागि २०७४ साल भदौ ९ गते कालिका–कुमार जेभिसँग तीन अर्ब ६ करोड ९८ लाख ५९ हजार २५९ रुपियाँमा ठेक्का सम्झौता भएको थियो।

कोरोनालगायत विभिन्न प्रकारका बाधा अड्चनका बाबजुद पनि कालिका–कुमार जेभिले म्याद थप गरेको निर्धारित समयमै गुणस्तरीय निर्माणका साथ नहरको ३७ किलोमिटरको काम सम्पन्न गरेर पानी छोडिएको कुमार कन्स्ट्रक्सनका निर्देशक सुजित श्रेष्ठले बताउनुभयो।

बाँके जिल्लाको अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी पश्चिम नहरतर्फको ३३ हजार ७०० हेक्टर र पूर्वी तर्फको ९ हजार हेक्टर खेतीयोग्य जमिनलाई सुख्खा लाग्नबाट बचाउने उद्देश्यले आर्थिक वर्ष ०६१/०६२ देखि सिक्टा सिँचाइ आयोजना सुरु गरिएको थियो।