आज २५६७औँ बुद्ध जयन्ती
2023-05-05 16:39:44cri
Share with:

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली भूमिमा बुद्धको जन्म नेपाली र नेपालीका लागि गर्वको विषय भएको बताउनुभएको छ। शुक्रबार २५६७ औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवस २०८० को अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनुभएको हो।

उहाँले भन्नुभयो, ‘‘ईशापूर्व ६२३ मा शाक्यमुनि बुद्धको जन्म लुम्बिनीको सुन्दर बगैंचामा भयो। नेपाली भूमिमा बुद्धको जन्म नेपाल र नेपालीका लागि गर्वको विषय हो। उहाँको जन्मले नेपाललाई विश्वमा चिनारी मात्रै नभई धार्मिक पर्यटनको माध्यमबाट असीमित सम्भावनासमेत उपलब्ध गराएको छ।’’

प्रधानमन्त्रीले संसारभरिका चार अर्बभन्दा बढी बौद्ध समुदायले जीवनमा एक पटक आउनैपर्ने पवित्रस्थलका रूपमा रहेको लुम्बिनीको सम्भाव्यताको अन्दाज गर्न गाह्रो रहेको पनि बताउनुभयो।

२५६७औँ बुद्ध जयन्तीका अवसरमा बुद्ध जन्मभूमि लुम्बिनीसहित देशभरका बौद्ध तीर्थस्थलमा दर्शनार्थीको घुइँचो लागेको छ। रुपन्देहीको लुम्बिनी, काठमाडौँको स्वयम्भू, बौद्धलगायत तीर्थस्थलमा बौद्ध अनुयायीको बिहानैदेखि घुइँचो लागेको गोरखापत्र अनलाइनले लेखेको छ।

यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरिएका छन्। स्वयम्भू परिसरमा रहेको आनन्द कुटी विहारमा बुद्धको अस्तु धातु दर्शनका लागि राखिएको छ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनुभएका सिद्धार्थ गौतमको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ। सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याउनुभएको योगदानको स्मरणस्वरुप यो पर्व मनाउने गरिएको हो।

ईसापूर्व ५६३ अर्थात् आजभन्दा २५६७ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो।

यसै गरी, आज नेपालमा उँभौली पर्व पनि धूमधामका साथ मनाइँदै छ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्वमा भूमेस्थानमा पूजा आराधना गरी मनाइने चलन छ।

बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको यस विषयमा अनुसन्धान गरिरहनुभएका कीर्तिकुमार दुमी राईले जानकारी दिनुभएको छ।

गर्मी बढ्ने भएकाले यो समुदाय बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उँभौली रहेको हो। वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ।

यस पर्वका अवसरमा चण्डी नाच नाचिन्छ। यसै कारण वैशाख शुक्ल पूर्णिमाको दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ। किराँत समुदायका पनि विभिन्न सम्प्रदायका बीच साकेला नाच पनि नाचिन्छ।