१८० मेगावाटको कालिगण्डकी गर्ज जलविद्युत आयोजना निर्माणको प्रक्रियामा
2023-05-13 16:41:24cri
Share with:

मुस्ताङ र  म्याग्दीमा आयोजनाको संरचना रहने गरी प्रस्ताव गरिएको  १८० मेगावाट क्षमताको कालिगण्डकी गर्ज जलविद्युत आयोजना डेढ दशकपछि निर्माणको प्रक्रियालाई अगाडी बढाइएको छ। गत मङ्सिर महिनामा आयोजनाको प्रवर्द्धक हाइड्रो सोलुसनबाट त्रिवेणी इनर्जी प्रा.लिले कालिगण्डकी गर्जको स्वामित्व लिएसँगै आयोजना निर्माणको प्रक्रिया थालिएको हो। कालिगण्डकी नदीबाट विद्युत् उत्पादन गर्ने उद्देश्यले २०६३ सालमा उक्त आयोजनाको पहिलो पटक सर्वे गरिएको थियो ।

 

आयोजनाको मुस्ताङको थासाङ गाउँपालिकाको घाँसामा बाँध र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा विद्युत गृह प्रस्ताव गरिएको छ । आयोजनामा ६ किलोमिटर सुरुङ निर्माण गरिने छ। यो अवधिमा विभिन्न जलविद्युत कम्पनीहरूले आयोजनालाई अगाडी बढाउन खोजे पनि लगानीकर्ताको अभावमा अलपत्र परेको थियो। कालिगण्डकी गर्ज म्याग्दीमा निर्माण हुने सबैभन्दा ठुलो जलविद्युत आयोजना हो।

 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको २०७५ असारमा भएको चीन भ्रमणका क्रममा बेइजिङस्थित नेपाली दूतावासमा आयोजनाको प्रवर्द्धक हाइड्रो सोलुसनका सञ्चालक ज्ञानेन्द्रलाल प्रधान र युनाङ सिङ हवा वाटर कन्जरभेसन एन्ड हाइड्रोपावरका प्रतिनिधिबिच लगानीसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको थियो। तर चिनियाँ पक्ष लगानीबाट पछि हटेपछि आयोजना अलपत्र परेको गोरखापत्र अनलाइनले जनाएको छ।

गत मङ्सिरमा उक्त कालिगण्डकी गर्जको सम्पूर्ण स्वामित्व त्रिवेणी इनर्जी प्रा.लिले लिई स्वदेशी लगानीमा आयोजना निर्माणको प्रक्रिया अगाडी बढाइएको प्रा.लिका प्रशासन प्रमुख विजय कार्कीले बताउनुभयो ।

अहिले आयोजनाको परामर्शदाता रुप्से इन्भारोमेन्ट सोलुसन प्रा.लिले आयोजनाको वातावरणीय र सामाजिक प्रभाव मूल्याङ्कनलाई अगाडी बढाएको छ। सोलुसनका आर्थिक,सामाजिक  तथा सांस्कृतिक विज्ञ मुक्ति ढुङ्गानाले आयोजनाको पूरक वातावरणीय प्रभाव मूल्याङ्कन अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। शुक्रवार म्याग्दी र मुस्ताङका जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरू सहितको टोलीले आयोजना क्षेत्रको स्थलगत रूपमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा जनप्रतिनिधिहरूले अझै पनि आयोजना निर्माण हुनेमा शङ्का व्यक्त गरेका थिए । 

आयोजनाबाट वार्षिक १ अर्ब ५ करोड ५५ लाख ५२ हजार ३१३ युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ। जसअनुसार बर्खामा ७१ करोड ७३ लाख ३८ हजार र सुक्खा याममा ३३ करोड ८१ लाख १३ हजार युनिट बिजुली उत्पादन हुने कम्पनीले जनाएको छ ।

 

सुक्खा याममा आयोजनाको पेकिङ अवधि दैनिक ६ घण्टा हुने छ । आयोजनाले सुक्खा याममा पनि दैनिक ६ घण्टा १८० मेगावाट बिजुली उत्पादन गर्नेछ। यसअघि बहावमा आधारित (रन अफ दि रिभर) प्रकृतिको आयोजनालाई अर्ध जलाशय बनाउन विद्युत् विकास विभागले सैद्धान्तिक सहमति दिएको थियो। 

उत्पादित विद्युत् १ किलोमिटर माथि दानामा निर्माण भएको  २२० केभीए काली गण्डकी कोरिडोर प्रसारण लाइनको स्वस्टेसनमा जोडिने छ।